जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार ०७:४०

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती


स्याङ्जा, २८ भदौ । स्याङ्जाको वालिङ–१३ तारुखोलामा किसानले धान र मकैको विकल्पमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरेका छन् । बाँदरले क्षति नगर्ने र खाद्यान्न बालीभन्दा राम्रो आम्दानी हुने भएपछि किसान खुर्सानी खेतीतर्फ आकर्षित भएका हुन् ।

तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा लगाइएको छ । वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक खेती गरिएको फार्मका सञ्चालक दयाराम पाठकले बताउनुभयो ।

गत फागुनमा रोपिएको खुर्सानीले अहिले उत्पादन दिन थालेको छ । हाल दुई–तीन दिनमा करिब ३०० किलो पाकेको खुर्सानी टिपेर बजार पठाउने गरिएको छ । उत्पादन भएको खुर्सानी मागअनुसार बजारमा पुर्‍याउन नसकिएको पाठकले बताउनुभयो ।

खुर्सानी प्रतिकिलो २२० रुपैयाँमा बिक्री भइरहेको छ । यहाँ उत्पादित खुर्सानी यशोदा फुड्स प्रालि, बुटवलको तरकारी मण्डी तथा स्थानीय बजारमा खपत हुने गरेको छ । हालसम्म करिब सात लाख रुपैयाँको खुर्सानी बिक्री भइसकेको छ ।

पहिलोपटक व्यावसायिक रूपमा खेती गरिएको र उत्पादन तथा बजार राम्रो देखिएपछि आगामी दिनमा क्षेत्र विस्तार गर्ने तयारी गरिएको छ । कृषि विकास परियोजना (हेफर) ले कृषि प्राविधिकसँगै मल्चिङ प्लास्टिक, मल तथा खुर्सानी सुकाउने मेसिन उपलब्ध गराएको छ ।

फार्ममा खुर्सानीसँगै माछापालन र कागती खेतीसमेत गरिएको छ । फार्मले उत्पादित खुर्सानी, कागती, माछालगायत कृषिजन्य वस्तु आफ्नै सवारीसाधनमार्फत कृषक तथा व्यापारीसम्म पुर्‍याउँदै आएको छ ।

खेर गएको जमिनलाई सदुपयोग गरेर गाउँमै राम्रो आम्दानी गर्न सकिने पाठकको भनाइ छ ।