जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार ०७:५०

मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन


मुस्ताङ, भदौ २८ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तुको आयात बढेको हो । तातोपानी नाका पनि बन्द रहेकाले कोरलानाका हुँदै हुने आयात बढ्दा भन्सार राजस्वमा समेत वृद्धि भएको मुस्ताङ भन्सार प्रमुख विदुर चुडालले बताउनुभयो ।

उहाँका अनुसार भदौ २२ गतेपछि कोरलानाकाबाट दैनिक औसत ३० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन भइरहेको छ । शुक्रबार मात्रै २७ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

शुक्रबार ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ । रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाकाबाट आएका ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको भन्सार प्रमुख चुडालले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै आएका कन्टेनर र विद्युतीय सवारीसाधनको जाँचपासबाट २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । भदौ ९ गतेसम्म भने १३३ कन्टेनर र १६३ विद्युतीय सवारीसाधन मात्रै नेपाल भित्रिएका थिए ।

तातोपानी र रसुवागढी नाकामा बाढीपहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि सरकारले गत वर्ष भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक निकासी–पैठारी नाकाका रूपमा खुला गरेको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । सो अवधिमा पैठारीतर्फ १४ अर्ब ४१ करोड र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

गत आर्थिक वर्ष कोरलानाका हुँदै ३ हजार २२३ विद्युतीय सवारीसाधन र १ हजार ८७३ कन्टेनरको भन्सार जाँचपास गरिएको थियो ।