जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार ०६:५७

बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया


काठमाडौं, भदौ २९ । २० वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान् बेपत्ता हुनुभएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवनमा फेरि अर्को बज्रपात परेको छ ।

नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहनुभएकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएपछि उहाँ छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा पर्नुभएको छ ।

रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्दै आएका भुपेन्द्रले भदौ ९ गते साँझ आमालाई फोन गरेर असोजमा उपचारका लागि काठमाडौं आउने, दसैँअघि बिहे गर्ने र पोखरा गएर बस्ने योजना सुनाउनुभएको थियो । तर भदौ १० गतेदेखि उहाँ सम्पर्कविहीन हुनुहुन्छ ।

‘नयाँ नम्बरबाट फोन आउँदा कतै छोराले पो गर्नुभयो कि भन्ने आस लाग्छ,’ नरमायाले भन्नुभयो, ‘छोराको अवस्था टुङ्गो नलागी कसरी घर जानु ?’

छोराको खोजीका लागि स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनी, आयोजना तथा सरकारी निकायमा गुहार माग्दै नरमाया काठमाडौंमै बसिरहनुभएको छ ।

उहाँका श्रीमान् नन्दबहादुर रेग्मी पनि २० वर्षअघि बेपत्ता हुनुभएको थियो । दरवाङको एक किराना पसलमा बजार प्रतिनिधिका रूपमा काम गर्ने नन्दबहादुर बेपत्ता हुँदा नरमायाकी छोरी तीन दिनकी हुनुहुन्थ्यो । लामो समयसम्म अवस्था पत्ता नलागेपछि आफन्त र गाउँलेको सल्लाहमा धार्मिक विधिअनुसार उहाँको काजकिरिया गरिएको छ ।

आर्थिक अभावका कारण नरमायाले श्रीमान्को न्यायिक मृत्यु प्रमाणित गराउन सक्नुभएको छैन । श्रीमान्को नागरिकता तथा विवाह दर्ता नभएका कारण प्रक्रिया पूरा हुन नसक्दा उहाँ सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनुहुन्छ ।

कक्षा ८ सम्म पढेका भुपेन्द्रले ज्यालामजदुरी गरेर बहिनीलाई कक्षा १० सम्म पढाउनुभएको थियो । गत जेठमा नाकको समस्या देखिएपछि उहाँले आमालाई दुई महिना गण्डकी अस्पतालमा उपचार गराउनुभएको थियो । आमालाई पोखराबाट घर पठाएर उहाँ मजदुरीका लागि रसुवा जानुभएको थियो ।

नरमायाको स्वास्थ्य समस्या अझै पहिचान हुन सकेको छैन । उहाँले मासिक करिब २१ हजार रुपैयाँको औषधि सेवन गर्नुपर्ने अवस्था छ । थप उपचारका लागि असोजमा काठमाडौं लैजाने योजना भुपेन्द्रले बनाउनुभएको थियो ।

स्थानीय ओखरबोट माध्यमिक विद्यालयका शिक्षक नवीन पुनका अनुसार नरमायाको जीवनमा एकपछि अर्को पीडा थपिएको छ । चिकित्सकले ब्रेन ट्युमरको आशंका गर्दै थप उपचारका लागि काठमाडौं वा भारत जान सुझाव दिएपछि उपचार खर्च जुटाउन भुपेन्द्र रसुवा जानुभएको उहाँले बताउनुभयो ।

‘अहिले नरमायासामु बेपत्ता छोरा खोज्ने र आफ्नो उपचार गर्ने दुवै चुनौती खडा भएको छ,’ पुनले भन्नुभयो ।

बागलुङमा विवाह भएकी नरमायाकी छोरीको बच्चा सानो भएकाले उहाँले आमालाई पर्याप्त सहयोग गर्न सक्नुभएको छैन । त्यसपछि शिक्षक पुनको अगुवाइमा नरमायाको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ ।

पुनका अनुसार एक साताको अवधिमा सामाजिक सञ्जालमार्फत गरिएको अपिलबाट नरमायाको खातामा करिब दुई लाख ५० हजार रुपैयाँ जम्मा भएको छ । प्रतिबद्धता जनाएका सबैले सहयोग गरे करिब आठ लाख रुपैयाँ जुट्ने अनुमान गरिएको छ ।

रोग पहिचान गरी उपचार गराउन सके सहज हुने भए पनि अस्पतालमा कुरुवा बसिदिने परिवारका सदस्य वा आफन्त नहुँदा थप समस्या भइरहेको पुनले बताउनुभयो ।