काठमाडौं, भदौ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसका डिजेल इन्धन रिफाइनरीमा आक्रमण नगर्न चेतावनी दिनुभएको छ ।
आयरल्यान्ड भ्रमणका क्रममा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनले रुसी डिजेल इन्धनमाथि आक्रमण गर्दा अभाव सिर्जना भएको र त्यसबाट रुसबाहेक अन्य देशसमेत प्रभावित भएको बताउनुभयो ।
ट्रम्पले जेलेन्स्कीले रुसी इन्धन पूर्वाधारलाई निशाना बनाउन छाड्नुपर्ने बताउँदै युक्रेनसँग अन्य धेरै लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार पछिल्ला महिनामा रुसी इन्धन रिफाइनरीमा भएका आक्रमणबारे जेलेन्स्कीसँग टेलिफोनमा कुराकानीसमेत भएको थियो ।
युक्रेनले रुसी सीमाबाट सयौँ किलोमिटर टाढा रहेका तेल रिफाइनरीसहित विभिन्न पूर्वाधारमा ड्रोन आक्रमण तीव्र पारेको छ । त्यसको जवाफमा रुसले पनि पछिल्ला महिनामा लामो दूरीका मिसाइल तथा ड्रोन आक्रमण बढाएको छ ।
आइतबार रुसी ड्रोनले किएभबाट वार्सा जाँदै गरेको यात्रुवाहक रेललाई निशाना बनाएको थियो । घटनामा कुनै मानवीय क्षति नभएको वारसा र किएभ दुवैले पुष्टि गरेका छन् ।
जेलेन्स्कीले युक्रेनका पश्चिमी क्षेत्रमा समेत आक्रमण भएको बताउनुभएको छ । पछिल्ला आक्रमणहरू अमेरिकाका प्रतिनिधिहरूले मस्को र किएभ पुगेर रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि वार्ता पुनः अघि बढाउने प्रयास गरेको केही दिनपछि भएका हुन् ।
यसैबीच, मध्यपूर्वमा द्वन्द्व पुनः तीव्र बनेसँगै विश्व बजारमा तेलको मूल्य बढेको छ । यसको असर अमेरिकी इन्धन खर्च र मुद्रास्फीतिमा पर्न सक्ने तथा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउन सक्ने अनुमान गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्