काठमाडौं, भदौ २९ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै संस्कृति संवर्द्धनसँगै संस्कारयुक्त वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ।
हरितालिका तीज–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री थापा मगरले चाडपर्वको गरिमालाई सम्मानजनक रूपमा कायम राख्दै सदाचारपूर्ण जीवनशैली अपनाउनुपर्नेमा जोड दिनुभएको हो। उहाँले भन्नुभएको छ, “हरितालिका तीजको मौलिकतालाई कायम राख्दै संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता हो।”
मुख्यमन्त्री थापा मगरले हरितालिका तीज नेपाली महिलाहरूले सनातन सांस्कृतिक पर्वका रूपमा मनाउँदै आउनुभएको उल्लेख गर्दै यस पर्वले नेपाली समाजमा विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउँदै आएको बताउनुभएको छ।
उहाँले भाद्र शुक्ल पक्ष तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरूले भगवान् शिव–पार्वतीको पूजा–आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने परम्परा रहिआएको उल्लेख गर्नुभएको छ।“यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेका हुन्छन् भन्ने मेरो विश्वास रहेको छ,” मुख्यमन्त्री थापा मगरले सन्देशमा उल्लेख गर्नुभएको छ।
उहाँले यस्ता पर्वले नेपालीहरूलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकआपसमा खुसी साटासाट र मनोरञ्जन गर्ने अवसरसमेत प्रदान गर्ने बताउनुभएको छ।
मुख्यमन्त्री थापा मगरले तीज पर्वले नेपाली समाजमा विद्यमान लैङ्गिक, जातीय, वर्गीयलगायत सबै प्रकारका विभेद तथा असमानताको अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले विभेदरहित समतामूलक समाज निर्माणतर्फ अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छासहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्