काठमाडाैं, भदाै २९ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सरकारसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन पुनःस्थापनामा प्रयोग गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयाे ।
उहाँले बाढी प्रभावित क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर उद्धार तथा व्यवस्थापनको काम भएको भन्दै यसले जनप्रतिनिधि र स्थानीयको मनोबल उच्च राख्न सहयोग पुग्ने बताउनुभयाे ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो चाँडो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको उल्लेख गर्दै सडक सञ्चालनमा आएपछि प्रभावितलाई पूर्ववत् अवस्थामा फर्किन सहज हुने विश्वाससमेत ब्यक्त गर्नुभएकाे छ ।
प्रधानमन्त्री शाहले नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्नसक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने धारणासमेत राख्नुभयाे । सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिँदै उहाँले रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई ध्यान दिएर वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्ने बताउनु भयाे।
यस्तै प्रधानमन्त्री शाहले सुरक्षित स्थानमा आवश्यक जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयाे। छलफलबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्नसमेत सहयोग पुगेको उहाँको भनाइ छ ।














प्रतिक्रिया दिनुहोस्