काठमाडौं, भदौ २९ । बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणलाई सुरक्षित, दिगो र प्रभावकारी बनाउन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको नेतृत्वमा प्रभावित स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरूसँग छलफल भएकाे छ।
छलफलमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माण गर्दा स्थानीय भूगोल, जोखिमको अवस्था, संस्कृति, जीविकोपार्जन तथा स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्ने विषयमा जोड दिइएको छ। पुनर्निर्माणका क्रममा सबै प्रभावित क्षेत्रका लागि एउटै ढाँचा लागू गर्नुको सट्टा स्थानविशेषको अवस्था र आवश्यकताअनुसार फरक–फरक समाधान अपनाउने विषयमा छलफल भएको जनाइएको छ।
त्यस्तै, प्रभावित नागरिकलाई सुरक्षित स्थानमा पुनर्स्थापित गर्ने, स्थानीय समुदायको स्वामित्व सुनिश्चित गर्ने तथा प्राविधिक ज्ञान र स्थानीय अनुभवबीच समन्वय गर्दै पुनर्निर्माण अघि बढाउने लक्ष्य लिइएको छ।
छलफलमा विपद्पछि गरिने पुनर्निर्माणलाई विगतकै अवस्थामा फर्काउने मात्र नभई भविष्यमा आउन सक्ने विपद्को जोखिमसमेत न्यूनीकरण हुनेगरी अघि बढाउनुपर्नेमा जोड दिइएको छ। यसै उद्देश्यले “Build Back Better, Build Back Safer” अर्थात् “अझ राम्रो र अझ सुरक्षित बनाऔँ” भन्ने अवधारणालाई व्यवहारमा उतार्ने लक्ष्य लिइएको छ।
मुख्यमन्त्री किरण थापाको नेतृत्वमा भएको छलफलले प्रभावित स्थानीय तहका जनप्रतिनिधिको सुझाव तथा स्थानीय आवश्यकता समेटेर पुनर्स्थापना र पुनर्निर्माणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्