काठमाडौं, भदौ २९ । त्रिशूली, भोटेकोशी, रसुवा र नुवाकोटलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रोयल एवान इन्भेस्टमेन्ट प्रालि र फास्टफुड एसोसिएसन नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् ।
रोयल एवान इन्भेस्टमेन्ट प्रालिले कोषमा ५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गरेकाे छ भने फास्टफुड एसोसिएसन नेपालले ३ लाख ३ हजार ३३३ रुपैयाँ सहयोग गरेको छ। दुवै संस्थाबाट गरी कोषमा ८ लाख ८ हजार ८८८ रुपैयाँ जम्मा भएको छ।

रोयल एवान इन्भेस्टमेन्ट प्रालिअन्तर्गतका शाखा, सञ्चालक, सेयर सदस्य, कर्मचारी तथा शुभेच्छुकबाट संकलित सहयोग रकमको चेक कम्पनीका अध्यक्ष हरिबहादुर श्रेष्ठ (नविन) सहितको टोलीले अर्थ मन्त्रालय, सिंहदरबारमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो।
त्यस्तै, फास्टफुड एसोसिएसन नेपाल (फास्ट फ्यान) का अध्यक्ष होमराज श्रेष्ठसहितको टोलीले पनि ३ लाख ३ हजार ३३३ रुपैयाँको चेक अर्थमन्त्री वाग्लेलाई अर्थ मन्त्रालयमै हस्तान्तरण गर्नुभएको हो।
प्रालिले बाढीपहिरोबाट प्रभावित परिवारको दुःखमा ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका कार्यमा केही योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाएका छन्।
बाढीपहिरोका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा व्यवसायिक क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी रहेको छ।














प्रतिक्रिया दिनुहोस्