काठमाडौं, भदौ ३० । आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदैछ ।
ऋषिपञ्चमीका अवसरमा सप्तऋषिको पूजाआराधना गर्ने परम्परा छ । विशेषगरी महिलाहरू बिहानै उठेर नदी, खोला, ताल, तलैया तथा पोखरीमा स्नान गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गर्छन् ।
सप्तऋषिको पूजा गरिने भएकाले भाद्र शुक्ल पञ्चमीलाई ऋषिपञ्चमी भनिन्छ ।
ऋषिपञ्चमीका अवसरमा काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा गर्न श्रद्धालु महिला भक्तजनको भीड लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत पात्रोअनुसार यस वर्ष गणेश चतुर्थी र ऋषिपञ्चमी एकै दिन परेको हो ।
आइतबार दर खाएसँगै सुरु भएको तीज पर्वअन्तर्गत सोमबार भाद्र शुक्ल तृतीयाका दिन व्रत बसेर पूजा तथा उपासना गरिएको थियो । रसुवाको भोटेकोशी बाढीका कारण यस वर्ष विगतका वर्षको तुलनामा तीजको रौनक कम देखिएको छ ।
आज सप्तऋषिको पूजासँगै यस वर्षको तीज पर्व पनि समापन हुँदैछ ।














प्रतिक्रिया दिनुहोस्