जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार ०९:३४

गणेश चतुर्थीमा देशभरका गणेश मन्दिरमा भक्तजनको भीड


काठमाडौं, भदौ ३० । गणेश चतुर्थीका अवसरमा मंगलबार बिहानैदेखि राजधानीसहित देशभरका प्रमुख गणेश मन्दिरमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको धार्मिक मान्यताअनुसार आज गणेशको जन्मोत्सव मनाइँदैछ । काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक र कमलादी गणेशलगायत मन्दिरमा विशेष पूजा भइरहेको छ ।

शिव–पार्वतीका पुत्र गणेशलाई धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त देवताका रूपमा पूजा गर्ने परम्परा छ । तीजको व्रतपछि चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भन्ने कामनासहित गणेशको पूजा गर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले बताउनुभएको छ ।

मंगल चतुर्थीसमेत भनिने आजको दिन नेवार समुदायले ‘चथा’ पर्वका रूपमा मनाउने गर्छन् । यस अवसरमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन छ ।

राष्ट्रिय धर्मसभा नेपालले विसं २०६५ देखि विभिन्न कार्यक्रम आयोजना गरी गणेश चतुर्थी मनाउँदै आएको छ । आज विभिन्न गणेश मन्दिरमा पूजा आराधनासँगै प्रवचन कार्यक्रम आयोजना गरिएको धर्मसभाका अध्यक्ष प्रा.डा. माधव भट्टराईले जानकारी दिनुभएको छ ।

राष्ट्रिय धर्मसभाले हरेक वर्ष गणेश रथयात्रासमेत गर्दै आएको छ । यस वर्ष भाद्र शुक्ल पञ्चमी पनि मंगलबार नै परेकाले गणेश रथयात्रा आजै आयोजना गरिने जनाइएको छ ।