जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार २०:५४

बाँदरलाई हानेको गोली साथीकै टाउकोमा लाग्दा…


खोटाङ, भदौ ३० । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खार्मीको निङ्गालेस्थित महभीरका ५२ वर्षीय श्यामबहादुर तामाङ हुनुहुन्छ। उहाँलाई सोही ठाउँका ५४ वर्षीय भलबहादुर तामाङले बाँदर धपाउने क्रममा प्रहार गर्नुभएको गोली लागेको हो।

मकैबारीमा बाँदर आएपछि मंगलबार दिउँसो करिब २ बजे भलबहादुर र श्यामबहादुर बाँदर धपाउन जानुभएको थियो। वल्लो र पल्लो डाँडाबाट घेरा हालेर बाँदर धपाउने क्रममा भलबहादुरले बाँदरलाई ताकेर भरुवा बन्दुक प्रहार गर्नुभएको थियो। त्यही क्रममा गोली श्यामबहादुरको टाउकोमा लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनापछि भलबहादुरले आफैँ प्रहरीलाई फोन गरेर जानकारी गराउनुभएको थियो। जानकारी पाएपछि प्रहरी चौकी खार्मीको टोली घटनास्थल पुगेको थियो।

घटनाबारे जानकारी पाएलगत्तै अनुसन्धानका लागि प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा जिल्लाबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ।

जिल्लाबाट प्रहरी टोली पुगेपछि घटनाको मुचुल्का उठाएर मृतकको शव र भलबहादुरलाई जिल्ला ल्याउने तयारी गरिएको वडा सदस्य वीरेन्द्र राईले जानकारी दिनुभएको छ।