जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार ०६:५९

जापानमा हुने एसियन गेम्सका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा


काठमाडौं, भदौ ३१ । जापानमा आयोजना हुने एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले ऐरीको कप्तानीमा बुधबार टोलीको अन्तिम नामावली सार्वजनिक गरेको हो।

टोलीमा दीपेन्द्रसिंह ऐरीसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्।

एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको टिम लिडरमा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी विनोद दास रहनुभएको छ भने मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन्।

एसियन गेम्समा क्रिकेटतर्फ राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरिएको क्यानले जनाएको छ।

एसियन गेम्स आगामी असोज ३ देखि १८ गतेसम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ।