जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार १०:०३

सिन्धुलीका ३९ सामुदायिक वन समूहद्वारा विपद् प्रभावितका लागि ९ लाख २९ हजार रुपैँया सहयोग


काठमाडौं, भदौ ३१ । सिन्धुलीका ३९ वटा सामुदायिक वन उपभोक्ता समूहले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ लाख २९ हजार ३५६ रुपैयाँ सहयोग गरेका छन् । 

सामुदायिक वन उपभोक्ता समूहहरूले स्वैच्छिक रूपमा संकलन गरेकाे उक्त रकम मंगलबार सिन्धुलीमाडीस्थित जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठका अनुसार भदौ १० गते आएको भीषण बाढीबाट रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि विपद् प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले जिल्लाका सामुदायिक वन उपभोक्ता समूहबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिएको हो।

अध्यक्ष श्रेष्ठले प्राकृतिक विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसमेत भएकाले सामुदायिक वन उपभोक्ता समूहहरूले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरेका बताउनुभयो। उहाँका अनुसार सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षण र व्यवस्थापनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्ने प्रयास गरेका हुन् । 

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि सरकार तथा विभिन्न संघसंस्था र समुदायस्तरबाट राहत तथा उद्धारका लागि सहयोग जुटिरहेको छ। यसै क्रममा सिन्धुलीका सामुदायिक वन उपभोक्ता समूहहरूले पनि प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् । 

काेषमा जनकल्याण सामुदायिक वन उपभोक्ता समूह, कमलामाई–७ ले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। त्यस्तै विशाल सामुदायिक वन उपभोक्ता समूह, दुधौली–३ ले ५१ हजार ५ सय रुपैयाँ, मलहनिया सामुदायिक वन उपभोक्ता समूह, कमलामाई–१४ ले ५१ हजार रुपैयाँ, भीमान पन्नेसी सामुदायिक वन उपभोक्ता समूह, कमलामाई–९ ले ५० हजार ५ सय ५५ रुपैयाँ र कल्याणी सिस्नेरी सामुदायिक वन उपभोक्ता समूह, कमलामाई–५ ले ५० हजार ५ सय ५१ रुपैयाँ सहयोग गरेका छन्। अन्य सामुदायिक वनहरुले ५ सयदेखि ५० हजार रुपैँयासम्म सहयाेग गरेका छन् ।