काठमाडौं, असोज १ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वाग्लेको भारत भ्रमण स्वीकृत गरेको हो । उहाँले बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुनेछ ।
अर्थ मन्त्रालयका अनुसार विपद्पछिको पुनर्निर्माणलगायत नेपाल–भारतबीच आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको छ ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले बिहीबार साँझ भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ । शुक्रबार उहाँले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
शुक्रबार नै उहाँ भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्यसै दिन भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि उहाँ सहभागी हुनुहुनेछ ।
शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिहरूसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ ।
शनिबार दिउँसो दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भएपछि उहाँ शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ ।














प्रतिक्रिया दिनुहोस्