जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार ०८:२३

अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा तीन ट्यांकर र आयल स्टोर्समाथि कारबाही


रुपन्देही, असोज १ । नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय रूपन्देहीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने तीन ट्यांकरबाट अनधिकृत रूपमा डिजेल झिकेको घटनामा कारबाही गरेको छ ।

निगमका अनुसार अमलेखगञ्जस्थित मधेस प्रादेशिक कार्यालयबाट भलवारी डिपोका लागि २० हजार लिटरका दरले डिजेल ढुवानी गरेर आएका तीनवटा ट्यांकरबाट सिद्धार्थनगर नगरपालिका–भैरहवास्थित सराफ आयल स्टोर्सको परिसरमा डिजेल झिकिएको थियो ।

लु१ख ६५०४, लु२ख १५४४ र लु१ख ६६१९ नम्बरका ट्यांकरबाट डिजेल झिकिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको निगमले जनाएको छ ।

निगमका अनुसार लु१ख ६५०४ र लु२ख १५४४ नम्बरका ट्यांकरको यान्त्रिक सुरक्षा लकिङ प्रणाली बिगारी डिजेल झिकिरहेको अवस्थामा तथा लु१ख ६६१९ नम्बरको ट्यांकरबाट डिजेल निकालेर भाग्ने क्रममा नियन्त्रणमा लिइएको हो ।

स्थलगत जाँचका क्रममा तीनवटै ट्यांकरको लकिङ प्रणालीमा ज्याक लगाएर म्यानहोल खोलिएको र ३० लिटर डिजेल नीलो ड्रममा राखिएको अवस्थामा फेला परेको थियो ।

ट्यांकर चालक, सहचालक तथा पम्प सञ्चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको निगमले जनाएको छ ।

सराफ आयल स्टोर्सलाई अनधिकृत रूपमा पेट्रोलियम पदार्थ खरिद तथा बिक्री–वितरण गरेको अभियोगमा एक लाख रुपैयाँ जरिबाना गरिएको छ । साथै, ६ महिनासम्म पेट्रोलियम पदार्थ आपूर्ति बन्द गर्ने कारबाही गरिएको निगमका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख शैलेन्द्र भुसालले जानकारी दिनुभएको छ ।

त्यस्तै, ट्यांकर चालक तथा सहचालकलाई निगमका कुनै पनि डिपो तथा कार्यालयमा आजीवन प्रवेश निषेध गरिएको छ । निगमको करार सम्झौताअन्तर्गत सञ्चालनमा रहेका ट्यांकरसमेत चलाउन नपाउने गरी उनीहरूमाथि कारबाही गरिएको निगमले जनाएको छ ।