काठमाडौं, असोज १ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
भारत सरकारको निमन्त्रणामा उहाँ बिहान ७ः३५ बजेको उडानबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।
अर्थमन्त्री वाग्लेको भ्रमणको मुख्य उद्देश्य विपद्पछिको पुनर्निर्माणलगायत नेपाल–भारतबीच आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नु रहेको उहाँको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी निर्मला सीतारमण, विदेशमन्त्री डा. एस. जयशंकरलगायतसँग भेटवार्ता गर्नुहुनेछ ।
उहाँले शुक्रबार पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुहुनेछ । त्यसैगरी भारत व्यापार सम्वर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।
शनिबार बिहान भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने औद्योगिक सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ । सोही दिन दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी हुनुहुन्छ ।
अर्थमन्त्री वाग्ले शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ ।














प्रतिक्रिया दिनुहोस्