सिरहा, पुस १२ गते । पछिल्लो समय लागुऔषध कारोबारीलाई समात्ने अभियानमा एक पछि अर्को सफलता हात पारिरहेको छ । शुक्रवार राति सिरहाको बरियारपटी गाउँपालिका चमार टोल नजिक एक जनालाई ९९५ थान लागुऔषधको एम्पुल सहित लहान नगरपालिका वडा नं. ११ बस्ने बर्ष २६ को उदय नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । स. १० प ७१५३ नम्बरको मोटरसाइकल चालकलाई चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बलको टोलीले चौधरीको साथबाट नुर्फिन २३४ थान, डाईजेलेप २५४ थान, फेनारगन २५४ एम्पुल गरी जम्मा ९९५ थान लागुऔषध बरामद गरी नेपाल प्रहरीलाई बुझाएको छ । यसैगरी, बिहीवार दुई जनालाई लागुऔषध सहित पक्राउ गरेका छन् । जिल्लाको नरहा गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २६ को मोहमद एमामुदिन र सिरहा नगरपालिका वडा नं. ४ बस्ने बर्ष १९ को मोहमद रहिमलाई सिरहा नगरपालिका वडा नं. १७ पटेर्वा भन्ने स्थानबाट पक्राउ गरेको हो ।
भारतबाट सिरहाको माडर नाका हुँदै नेपालतर्फ आउँदै गरेको स. ५ प. ५०७५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पक्राउ परेका मोहमद एमामुदिनको साथबाट लागुऔषध नाइट्रोभेट ७२० ट्याबलेट र मोहमद रहिमको साथबाट नाइट्रोभेट ४५ ट्याबलेट गरी जम्मा ७६५ ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ ।
यस्तै, बुधवार मात्रै सिरहा प्रहरीले लागुऔषध सहित ४ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाही बस्ने २२ वर्षीय मोहन राय, लहान नगरपालिका वडा नं. १ बस्ने २६ वर्षीय मुकेश चौधरी, सोही ठाउँका १६ वर्षीय कमलेश चौधरी र लहान नगरपालिका वडा नं. १५ बस्ने १७ वर्षीय प्रेम कुमार चौधरी छन् । पूर्वी र मध्य पूर्वी जिल्लाहरुमा लागुऔषध कारोबारीहरु बढ्दै गएको गुनासो बढेपछि सिरहा प्रहरीले लागुऔषधमा संलग्नलाई नियन्त्रणमा लिने अभियानलाई तिब्रता दिएका छन् ।
सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. १ बडहरीमा प्रहरी चौकी कचनारी सिरहाबाट खटेको गस्ती टोली र सिरहाको लहान नगरपालिका वडा नं. १ मुसहरी टोलमा इलाका प्रहरी कार्यालय लहानको प्रहरीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको स.४ प. ६३२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पक्राउ परेको रायको साथबाट लागुऔषध नाईट्रोभेट ७५ पिस ट्याबलेट, मुकेश चौधरी, कमलेश चौधरी र प्रेम कुमार चौधरीको साथबाट लागुऔषध फेनेरागन ५ एम्पुल, डाईजेल्याप ६ एम्पुल, नोर्फिन २ एम्पुल, नाम लेबुल नभएको लागुऔषध ५ एम्पुल, नाईट्राजिपाम १० ट्यावलेट, सिरिन्च थान २ बरामद भएको सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनुभयो । वहाँका अनुसारा पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।
त्यसैगरि गएको शनिबार राति ८:३० बजे लहान नगरपालिका वडा नं. ४ मा पैदल यात्रुको रुपमा रहेका एक युवकको गतिविधि शंकास्पद देखेर चेकजाँच गर्दा अर्नमा गाउँपालिका वडा नं. ४ बस्ने २५ वर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गर्यो । चौधरीको साथबाट ११० मिलिग्राम ब्राउन सुगर बरामद भएको सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले बताउनुभयो ।
पक्राउ परेका चौधरीलाई थप अनुसन्धानको क्रममा बरामद उक्त ब्राउन सुगर आफ्नो साथी लहान नगरपालिका वडा नं. ४ बस्ने २४ वर्षीय रञ्जित यादवबाट खरीद गरेको बताएपछि रञ्जित यादवको घरमा खानतलासी गर्दा ब्राउन सुगर ३५० ग्राम, नोर्फिन एक एम्पुल, डाइजोपाम एक एम्पुल, फेनारगन एक एम्पुल, नाइट्रोभेट एक ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
सिरहाको गोलबजार नगरपालिकामा ब्राउन सुगरको सेवनकर्ता र कारोबारी यसअघि पटक-पटक पक्राउ परेपनि ब्राउन सुगर सहित पक्राउ परेको लहानमा यो पहिलो पटक हो । सिरहा प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा १६ ग्राम ३७ मिलिग्रामसम्म ब्राउन सुगर बरामद गरिसकेको छ ।
ब्राउन सुगर मात्र होइन, सीमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याइने विभिन्न किसिमका लागूऔषध र नेपालबाट भारततर्फ पैठारी हुने गाँजाको ओसारपोसारमा संलग्नलाई सिरहा प्रहरीले दैनिकजसो पक्राउ गरिरहेको छ । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा सिरहा प्रहरीले चार हजार ३३ थान विभिन्न प्रकारका लागूऔषध र यसमा संलग्न ८५ जनालाई लागूऔषध कारोबारीमा मुद्दा चलाइसकेको छ ।
मुख्य कारोबारीहरु अझै प्रहरीको नियन्त्रण बाहिर
प्रहरीले समय-समयमा लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेपनि लामो समयदेखि सिरहामा लागुऔषध कारोबारमा संलग्न व्यापारीहरु भने अझै प्रहरीको नियन्त्रण बाहिर छ । लहान नगरपालिका वडा नं. २ बस्ने विजय यादव र उनीसंग कारोबार गर्ने लहान नगरपालिका वडा नं. १ का कैयौं व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिन सकेका छैन । उनीहरु लामो समयदेखि लागुऔषधको व्यापार गरेर युवाहरुलाई कुलतमा पारी आर्थिक लाभ लिने गरेको गुनासो दिनहुँ जसो आइरहेपनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।
भारतीय सीमाबाट भित्रिन्छ लागुऔषध
सिरहाको नेपाल-भारत सीमा जोड्ने जयनगर, पिपराही, लदनियाँ, लोकहा-ठाडी लगायतका नाकामा पुगेर लागूऔषध सेवन र खरिद गरी ल्याउने युवाजमात दिनप्रति दिन बढ्दो संख्यामा छ । प्रहरीले सीमा नाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्षित गरेर चेकजाँच गर्ने क्रममा अधिकांश युवाको साथबाट केही न केही मात्रामा लागूऔषध फेला पर्ने गरेको छ । लागूऔषध सेवन र कारोबारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन् ।
गाँजा फडानी अभियान तीब्र
सिरहा प्रहरीले चालु आर्थिक वर्षमा लागूऔषधमा मात्र होइन, चुरे क्षेत्र र ग्रामीण भित्री भागमा समेत लुकाइछिपाई गर्ने गाँजाको खेतीलाई नष्ट गर्ने अभियानलाई समेत अघि बढाएको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तको अवधिसम्म सिरहा प्रहरीले विभिन्न स्थानबाट एक लाख पाँच हजार १९ वटा गाँजाको बोट नष्ट गरेको छ ।
‘यहाँ भित्र्याइने लागूऔषधका सामग्रीहरु भारतबाट चोरीछुपी ल्याइने गरिन्छ भने गाँजाको खेती नेपाली भूमिमा नै गरिने हुँदा लागूऔषधको नियन्त्रणको साथसाथै गाँजाको खेती नष्ट गर्ने अभियान समेत हामीले सँगसँगै थालनी गरेका छौं’, प्रउ चतुर्वेदीले भन्नुभयो–‘भारतबाट भित्रिने लागूऔषध र यहाँ खेती लगाइने गाँजा दुबै देशका साझा समस्या भएकाले यसको निराकरणका लागि साझा अभियान चाल्नु आवश्यक छ ।’
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, चालु आर्थिक वर्षको हालसम्म २९ विगाहा पाँच कठ्ठा १७ धुर जग्गाबाट एक लाख पाँच हजार १९ वटा गाँजाको बोट नष्ट गरिएको छ । सिरहा प्रहरीले गत आर्थिक वर्षमा तीन विगाहा १९ कठ्ठा जग्गाबाट ३३ हजार ७३० वटा गाँजाको वोट नष्ट गरेको थियो ।
लागूऔषध कारोबारको जालो तोडन संघर्ष गर्दै सिरहा प्रहरी

प्रतिक्रिया दिनुहोस्