जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार २१:१९

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ


काठमाडौं, असोज १ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनामा १ किलो ६ सय ४३ ग्राम सुनसहित ४५ जना पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८३ साउन १ गतेदेखि भदौ ३१ गतेसम्म बाह्य मुलुकबाट नेपाल आउने यात्रुलाई प्रयोग गरी अवैध रूपमा सुन ओसारपसार तथा तस्करी गर्ने गतिविधिमाथि निगरानी र सुरक्षा जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूको साथबाट बरामद सुनको अन्दाजी मूल्य ४ करोड २५ लाख ७३ हजार १ सय ८६ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा तस्करहरूले वैदेशिक रोजगारी वा अन्य प्रयोजनबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारी सुन भित्र्याउने प्रयास गरेको खुलेको कार्यालयले जनाएको छ।

बरामद सुन र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

यसैगरी, सोही अवधिमा भन्सार छली गरी ल्याइएका मोबाइल, ल्यापटप, भेपलगायत विद्युतीय सामग्रीसहित १० जना पनि पक्राउ परेका छन्।

उनीहरूको साथबाट करिब ८८ लाख २२ हजार रुपैयाँ बराबरका विद्युतीय सामग्री बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

विमानस्थल सुरक्षा कार्यालयले अवैध सुन तथा विद्युतीय सामग्रीको ओसारपसार नियन्त्रणका लागि जोखिममा आधारित सुरक्षा जाँच, एक्स–रे स्क्रिनिङ, निगरानी तथा सूचना संकलनलाई प्रभावकारी बनाउँदै आएको जनाएको छ।

कार्यालयले यात्रुलाई प्रचलित कानुन तथा भन्सारसम्बन्धी व्यवस्था पालना गर्न र तस्कर वा अन्य व्यक्तिको प्रलोभन, दबाब वा प्रभावमा परी गैरकानुनी वस्तु ओसारपसार नगर्न आग्रह गरेको छ।