काठमाडौं, असोज १ । भोटेकोशी बाढीमा परी ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता रहेको पर्यटन विभागले जनाएको छ।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार भदौ १० गते आएको बाढीमा परी कैलाश मानसरोवर यात्रा तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड पुगेका विदेशी पर्यटकमध्ये ६०६ जनाको अवस्था अझै अज्ञात छ।
बेपत्ता हुने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतका १८९ जना छन्। त्यस्तै अमेरिकाका ६५, मलेसियाका ५५, युक्रेनका ५४, चीनका ३७, अष्ट्रेलियाका ३३, लाटभियाका ३३, बेलायतका ३२, क्यानडाका ३० जना छन्।
यसैगरी बेलारुस, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हंगेरी, आयरल्यान्ड, इजरायल, लिथुआनिया, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पोर्चुगल, रुस, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, जापान, फिलिपिन्स, काजकिस्तान, बेल्जियम, स्विडेन, स्विट्जरल्यान्ड, इटाली, भियतनाम, इस्टोनिया र दक्षिण कोरियाका नागरिकसमेत बेपत्ता रहेको विभागले जनाएको छ।
बाढीमा परी नेपालका १८८ जना पर्यटकसमेत बेपत्ता भएका छन्। उनीहरू विदेशी पर्यटकका सहयोगीका रूपमा गएका तथा कैलाश मानसरोवर र गोसाइँकुण्ड भ्रमणमा रहेका नेपाली भएको विभागले जनाएको छ।
विभागका अनुसार हालसम्म ३१० जना विदेशी पर्यटकको उद्धार गरिएको छ। बाढीपछि सम्पर्कविहीन भएका १३ जना—तीन पुरुष, नौ महिला र एक अन्य—सम्पर्कमा आइसकेका छन्।
बेपत्ता पर्यटकको खोजी तथा उद्धार र राहत कार्यलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायले तीव्रता दिएका छन्।












प्रतिक्रिया दिनुहोस्