काठमाडौं, असोज २ । अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको छ।
एन्फामाथि भइरहेको अनुसन्धानका क्रममा सीआईबीको टोलीले कार्यालयबाट केही कागजात नियन्त्रणमा लिएर पदाधिकारीहरूसँग सोधपुछ गरेको हो। एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशीसँग समेत सीआईबीले सोधपुछ गरेको जनाइएको छ।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले एन्फासम्बन्धी अनुसन्धानकै क्रममा कार्यालयमा पुगेर केही कागजात नियन्त्रणमा लिइएको र पदाधिकारीहरूसँग सोधपुछ गरिएको जानकारी दिनुभएको छ।
उहाँका अनुसार हालसम्म कसैलाई नियन्त्रणमा लिइएको छैन। अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।
यसैबीच, एन्फामाथि फिफाले प्रतिबन्ध लगाएको करिब चार महिना पुगेको छ। राष्ट्रिय खेलकुद परिषद्ले यसअघि एन्फालाई निलम्बन गरेको थियो। पछि सर्तसहित निलम्बन फुकुवा गरिए पनि फिफाले विनाशर्त निलम्बन फुकुवा गर्नुपर्ने भन्दै एन्फामाथि प्रतिबन्ध लगाएको थियो।
एन्फाका गतिविधि सञ्चालन नभएको भन्दै खेलाडी तथा सरोकारवालाबाट आलोचना हुँदै आएको छ। बिहीबार एन्फा महासचिव किरण राईले पत्रकार सम्मेलनमार्फत सोमबारदेखि कार्यालय सञ्चालनसँगै खेलकुद गतिविधि अघि बढाउने बताउनुभएको थियो।
तर, त्यसअघि नै सीआईबीको टोली एन्फा कार्यालय पुगेर कागजात नियन्त्रणमा लिएको हो।












प्रतिक्रिया दिनुहोस्