जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार २०:४०

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


काठमाडौं, असोज २ । अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।

भारत भ्रमणको दोस्रो दिन शुक्रबार भएको भेटवार्तामा नेपाल–भारतबीचको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय सहकार्य र आपसी विकासका विषयमा छलफल भएको छ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटमा अर्थमन्त्री वाग्लेले रसुवामा हालै आएको आकस्मिक बाढीपछि उद्धार तथा राहत कार्यमा भारत सरकारले पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो।

भेटमा विशेषगरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उपायबारे छलफल भएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले पनि हालैको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालसँगको सहकार्यलाई थप अघि बढाउने विषयमा छलफल गर्नुभएको भारतीय पक्षले जनाएको छ।

अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता तथा विभिन्न नीति संवादमा सहभागी भइरहनुभएको छ। उहाँले बिहीबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग पनि भेटवार्ता गर्नुभएको थियो।