रामेछाप, असाेज २ । जिल्ला प्रहरी कार्यालय रामेछापले आज पत्रकार सम्मेलनको आयोजना गरी भदौ महिनामा भएका अपराध अनुसन्धानका सफलता, मुद्दा दर्ता तथा फर्छ्यौट र राजस्व सङ्कलनको समग्र विवरण सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तुलाप्रसाद जैसवारका अनुसार ठगी गर्ने, जेष्ठ नागरिकलाई बन्धक बनाई लुटपाट गर्ने र ज्यान सम्बन्धी मुद्दाका अभियुक्तहरूलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाइएको छ।
मन्थली नगरपालिका वडा नं. ६ कुनौरीकी ५४ वर्षीया विभा माझीलाई नशालु पदार्थ सेवन गराई बेहोस बनाएर सक्कली गहना चोरी गरी नक्कली गहना लगाइदिने कार्यमा संलग्न गाेकुलगंगा गाउँपालिका-२ ठाेसेकी ५३ वर्षिया मैया कार्कीलाई प्रविधिको प्रयोग गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा ती महिलाले रामेछापका अन्य ३ जना र दोलखाका २ जना गरी कुल ६ जना वृद्धाको सुनका गहना चोरी गरेको कसुर स्वीकार गरिसकेकी छन् । अनुसन्धान गर्दा अझै बढी चाेरि गरेको हुनसक्ने देखिएको जैसवारले जानकारी दिनुभयो ।
त्यस्तै, गत भदौ १८ गते राति खाँडादेवी गाउँपालिका वडा नं. २ मझुवामा ८५ वर्षीय र ८६ वर्षीया वृद्ध दम्पतीलाई हातखुट्टा बाँधी, ज्यान मार्ने धम्की दिएर गहना तथा नगद लुट्ने र रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फोडेर चोरी गर्ने गिरोहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त कसुरमा संलग्न ५ जनालाई भक्तपुरका विभिन्न स्थानबाट लुटिएका गहना र नगदसहित भदौ २० गते पक्राउ गरिएको हो। निजहरू अन्य ८ वटा कसुरहरूमा समेत संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।
यसैगरी, मन्थली नगरपालिका वडा नं. ७ कौछिनिका २७ वर्षीय मनोज सार्कीको शंकास्पद मृत्यु भएको घटनामा डिल्ले सार्की र अस्मिता भन्ने नानीमैयाँ रम्तेलले चिरपटले प्रहार गरी घाइते बनाएको बयान दिएपछि उक्त मुद्दा कर्तव्य ज्यानमा परिणत गरी अनुसन्धान पूरा गरेर जिल्ला अदालत रामेछापमा पेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएकाे थियाे ।
भदौ महिनाभर जिल्लामा भवितव्य ज्यान र झुण्डी मृत्युका ६–६ वटा, चोरी तथा डाँका चोरीका ५ वटा, बैंकिङ कसूरका ३ वटा, ज्यान मार्ने उद्योगका २ वटा र जबरजस्ती करणी, अभद्र व्यवहार, बोक्सीको आरोप लगायतका गरी कुल २९ वटा नयाँ मुद्दाहरू दर्ता भएका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जनाकारी दिनुभयो ।। सोही अवधिमा प्रहरीले जघन्य २, गम्भीर ४ र सामान्य १८ गरी जम्मा २४ वटा मुद्दाहरू फर्छ्यौट गरेको छ भने विभिन्न मुद्दामा संलग्न ३ महिला र ३१ पुरुष गरी कुल ३४ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
गैरकानूनी गतिविधि नियन्त्रण तथा राजस्व संकलनतर्फ प्रहरीले अवैध नदीजन्य उत्खननमा संलग्न १ वटा सवारी साधन नियन्त्रणमा लिई रु. १५,००० जरिवाना गराएको छ। साथै, ट्राफिक नियम उल्लङ्घन गर्ने २२५ वटा सवारी साधनलाई कारबाही गरी रु. २ लाख ३८ हजार ५०० राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्