जनता टाइम्स

३ आश्विन २०८३, शनिबार ०८:१७

जापानमा आजदेखि २०औँ एसियाली खेलकुदको महाकुम्भ


काठमाडौं, असोज ३ । जापानको नागोयामा आजदेखि २०औँ एसियाली खेलकुद (एसियाड) सुरु हुँदैछ।

‘इमाजिन वन एसिया’ नारासहित आयोजना हुने एसियाडको औपचारिक उद्घाटन समारोह शनिबार नागोयास्थित पालोमा मिजुहो रंगशालामा हुँदैछ। उद्घाटन समारोहसँगै एसियाली खेलकुद औपचारिक रूपमा सुरु हुनेछ।

उद्घाटनअघि नै महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, आधुनिक पेन्टाथलन, महिला भलिबल र सफ्ट टेनिसलगायतका खेल सुरु भइसकेका छन्। प्रतियोगिताको समापन समारोह असोज १८ गते हुनेछ।

उद्घाटन समारोहमा जापानका सम्राट नारुहितो र साम्राज्ञी मासाकोको समेत उपस्थिति रहने जनाइएको छ। समारोहको सुरक्षा व्यवस्थाका लागि जापानले करिब १० हजार प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरेको छ।

एसियाली खेलकुदमा एसियाका विभिन्न देशबाट १७ हजारभन्दा बढी खेलाडी तथा खेलकर्मी सहभागी हुँदैछन्। यो संख्या ओलम्पिकमा सहभागी हुने खेलाडीको संख्याभन्दा समेत बढी रहेको आयोजकले जनाएको छ।

नागोयाबाहेक टोकियो, सिजुओका, गिफु र ओसाकामा समेत विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन हुनेछन्।

यसपटक नेपालले २१ खेलमा सहभागिता जनाउँदैछ। नेपालबाट १३५ खेलाडी एसियाली खेलकुदमा सहभागी हुँदैछन्।