जनता टाइम्स

३ आश्विन २०८३, शनिबार ११:३५

‘भीष्मपितामह “शरशय्यामा” ढले, केपी ओली ढलेको छैन, मैदानमै खडा छु’


ओलीको दाबी–‘१० वटा महाभारत लडेर आएको छु, यत्तिकै आइपुगेको होइन’

काठमाडौं, असोज ३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध विभिन्न कोणबाट हमला भइरहे पनि त्यस्ता प्रयासले एमाले र आफूलाई कमजोर बनाउन नसक्ने बताउनुभएको छ।

संविधान दिवसका अवसरमा शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू लामो राजनीतिक संघर्षबाट यहाँसम्म आइपुगेको भन्दै अहिले भइरहेका प्रयासबाट नडराउने स्पष्ट पार्नुभएको हो।

उहाँले आफूलाई महाभारतका भीष्मपितामहसँग तुलना गर्दै आफू मैदान छाडेर भाग्ने अवस्थामा नरहेको बताउनुभयो। “भीष्मपितामह शरशय्यामा ढलेका थिए, केपी ओली, ढलेको छैन, खडा छु, केपी ओली मैदानमा छ, मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन, १० वटा महाभारत लडेर आएको छु,यहाँ यत्तिकै आइपुगेको होइन,” अध्यक्ष ओलीले भन्नुभयो।

उहाँले एमालेविरुद्ध अहिले पनि विभिन्न प्रकारका हमला भइरहेको बताउँदै आगामी असोज ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीलाई अझ सुदृढ एकताका साथ अघि बढाउने दाबी गर्नुभयो। “नेकपा एमालेलाई यही तालले सिध्याउँछु भनेको होला, कुनै तालले नेकपा एमाले सिद्धिनेवाला छैन, यो नेपाली जनताको साँचो प्रतिनिधि पार्टी हो, साँचो प्रतिनिधि शक्ति हो,” उहाँले भन्नुभयो।

केन्द्रीय कमिटी बैठकबाट पार्टी थप मजबुत एकता र उच्च मनोबलका साथ अघि बढ्ने उहाँको भनाइ थियो। बैठकले पार्टीभित्र देखिएका समस्याको उपयुक्त समाधान गर्दै पार्टीलाई अझ सक्रिय र सुदृढ बनाउने उहाँले बताउनुभयो। “केन्द्रीय कमिटीले सबै प्रकारका समस्या, कुनै देखिएका छन् भने तिनको पनि उपयुक्त समाधान दिनेछ, पार्टीलाई सुदृढ एकताको सूत्रमा बाँध्नेछ, अझ सक्रिय, अझ उच्च मनोबलका साथ पार्टी अगाडि जानेछ र प्रतिक्रियावादी शक्तिका विरुद्ध लडेर नेपालको निर्णायक शक्तिका रूपमा फेरि स्थापित हुनेछ,” उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले एमाले कुनै अन्धविश्वासका आधारमा नभई वैचारिक रूपमा सचेत भएर अघि बढिरहेको बताउनुभयो। पार्टीभित्र कमजोरी पहिचान गर्ने र त्यसलाई सुधार गर्ने सामर्थ्य रहेको उहाँको दाबी थियो। “एमाले कुनै अन्धविश्वासमा हिँडेको छैन, वैचारिक ढंगले अत्यन्त सचेतताका साथ अघि बढेको छ, नेकपा एमालेभित्र कमजोरी महसुस गर्ने र सुधार गर्ने सामर्थ्य छ,” उहाँले भन्नुभयो।

देशका लागि सही नीति एमालेले मात्र दिन सक्ने दाबी गर्दै अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्तालाई दृढ मनोबलका साथ अघि बढ्न आग्रह गर्नुभयो। “प्रतिक्रियावादीले भुइँमा ढ्यापढ्याप हान्दा डराएर भाग्ने होइन, हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौँ, फेरि पनि पञ्जा लडाउँदा हामीले विजय हासिल गर्नेछौँ,” उहाँले भन्नुभयो।

उहाँले प्रतिगमनले केही समय जिते पनि अन्ततः सत्यको जित हुने बताउनुभयो। भ्रमलाई लामो समयसम्म सत्यका रूपमा स्थापित गर्न नसकिने उहाँको भनाइ थियो। “प्रतिगमनले एकछिन जिते पनि सत्यले सधैँका लागि जित्छ, भ्रम नै सधैँ सत्य हुने हो भने हामी पहिले नै बरफ बिलाएझैँ बिलाएर गइसक्ने थियौँ,” अध्यक्ष ओलीले भन्नुभयो।

‘सूर्य चिन्ह पनि नपाउने भएँ भनेर रोएको रे !’

अध्यक्ष ओलीले आफू र एमालेबारे पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पनि टिप्पणी गर्नुभयो। उहाँले आफू कुनामा बसेर रोइरहेको, एमालेले सूर्य चिह्न र पार्टीको नामसमेत गुमाउने अवस्था आएको जस्ता समाचारहरू प्रकाशित भएको उल्लेख गर्दै त्यस्ता समाचारमा कुनै सत्यता नभएको बताउनुभयो।

“हिजोसम्म पनि कराएको सुन्दै थिएँ–कता केपी ओली कुनामा बसेर रुँदै थियो भनेर, सूर्य चिह्न पनि नपाउने भएँ, पार्टीको नाम पनि नपाउने भएँ, कता टोपी फुकालेर आँसु पुछेर रुँदै थियो केपी ओली भनेर छापेका छन्, कठैबरी, कोही–कोही पत्रकार देखेर त माया पनि लाग्छ, यति झुट, यति असत्य किन फैलाएर हिँड्नुपरेको छ ?” उहाँले प्रश्न गर्नुभयो।

केन्द्रीय कमिटी बैठकपछि एमाले मजबुत एकता र संकल्पका साथ अघि बढ्ने उहाँले बताउनुभयो। अध्यक्ष र महासचिवसमेत बाँडफाँट भइसकेको भन्ने समाचारहरू झुटो भएको दाबी गर्दै उहाँले पार्टी विभाजनको प्रयास सफल नहुने बताउनुभयो।  “एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर,” उहाँले भन्नुभयो।

‘सिखण्डी अगाडि राखेर आक्रमण गर्ने प्रयास’

अध्यक्ष ओलीले आफ्नो राजनीतिक जीवनमा लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै अहिले पनि आफूविरुद्ध विभिन्न पात्रलाई अगाडि सारेर आक्रमण गर्ने प्रयास भइरहेको टिप्पणी गर्नुभयो।

महाभारतमा सिखण्डीलाई अगाडि राखेर अर्जुनले भीष्मपितामहमाथि प्रहार गरेको प्रसंग उल्लेख गर्दै उहाँले आफूविरुद्ध पनि त्यस्तै प्रयास भइरहेको बताउनुभयो।“महाभारतमा सिखण्डीलाई अगाडि राखेर अर्जुनहरूले गोली हान्दा भीष्मपितामह शरशय्यामा ढलेका थिए, अहिले पनि अगाडि सिखण्डीहरू राखेर आक्रमण गर्ने प्रयास भइरहेका छन्, मलाई थाहा छ” उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले अमरसिंह थापा आफ्नो उमेरमा तरबार बोकेर युद्धको मैदानमा रहेको प्रसंग उल्लेख गर्दै आफू भने कलम लिएर राजनीतिक संघर्षको मैदानमा रहेको बताउनुभयो। “अमरसिंह थापा मेरै उमेरमा तरबार लिएर युद्धको मैदानमा थिए, मैले तरबार लिएर होइन, कलम लिएर युद्धको मैदानमा छु, मैले त तरबार पनि बोक्न पर्दैन, सानो कलम बोकेको छु, बाेक्न सक्छु” उहाँले भन्नुभयो।

आफू ६० वर्षदेखि राजनीतिक संघर्षमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिलेका राजनीतिक चुनौतीबाट आफू पछि नहट्ने बताउनुभयो। “मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन, १० वटा महाभारत लडेर आएको छु, यहाँ यत्तिकै आइपुगेको होइन,” उहाँले दोहोर्‍याउनुभयो।

अध्यक्ष ओलीले एमालेका नेता–कार्यकर्तालाई जनताका बीचमा गएर संगठित रूपमा अघि बढ्न आग्रह गर्नुभयो। देश नेपाली जनताको साझा भएको उल्लेख गर्दै उहाँले देशलाई बिग्रन नदिन सबैलाई सचेत हुन आग्रह गर्नुभयो।

त्यसको अगुवाइ एमालेले गर्ने दाबी गर्दै उहाँले अराजकताबाट नभई स्पष्ट गन्तव्य र योजनाबाट मात्रै लक्ष्यमा पुग्न सकिने बताउनुभयो।

अध्यक्ष ओलीले पछिल्लो समय देशमा बाढीबाट ठूलो क्षति भएको उल्लेख गर्दै उद्धार तथा राहतमा एमाले सक्रिय रहेको बताउनुभयो। विपद्पछिको पुनर्निर्माणको चरणमा पनि एमालेले भूमिका निर्वाह गर्ने उहाँले स्पष्ट पार्नुभयो।

संविधान दिवसका अवसरमा एमालेले संविधानको रक्षा, संवैधानिक व्यवस्थाको सुदृढीकरण तथा राष्ट्रिय एकताका विषयमा कार्यक्रम आयोजना गरेको थियो। एमालेको बागमती प्रदेश कमिटीले पनि दिवसका अवसरमा संविधानको रक्षा र संवैधानिक व्यवस्थाको सुदृढीकरणलाई जोड दिएको जनाएको छ।