काठमाडौं, असोज ३ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता हुनुभएका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पत्रकार टेकराज थामीको आज पशुपति आर्यघाटमा कुशाकृतिबाट अन्त्येष्टि गरिएको छ।
भोटेकोशी नदीमा आएको बाढी पश्चात् थामी सम्पर्कविहीन हुनुभएको थियो । पारिवारिक स्रोतका अनुसार बाढीमा बेपत्ता भएको २४ दिनसम्म पनि सम्पर्कमा नआएका कारण कुशको शव बनाएर उहाँको अन्त्येष्टि गर्ने निर्णय गरिएको हो । उहाँ बाढी आउँदा रसुवा हुनुहुन्थ्याे ।
उहाँको जन्म बुवा डिलबहादुर थामी र आमा लीलादेवी थामीको कोखबाट २०४२ साल जेठ १४ गते दोलखाको कालिञ्चाेक गाउँपालिका–२ बाबरेमा भएको हो । उहाँले पत्रकारितामा स्नातकोत्तर गर्नुभएको थियाे ।
थामि नयाँ पत्रिका दैनिकमा कार्यरत हुनुहुन्थ्याे । उहाँ नेपाल थामी समाज केन्द्रीय समितिको पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँको श्रीमती र एक छोरी हुनुहुन्छ ।
थामीको अन्त्येष्टिमा सहभागी नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले उहाँ अब हामीमाझ हुनुहुन्न भन्ने यथार्थलाई अझै पनि मनले स्वीकार्न नसकेको बताउनुभयाे । अन्त्येष्टिपछि भावुक हुँदै अध्यक्ष शर्माले थामीको असामयिक निधनले आफूलाई अत्यन्त मर्माहत बनाएको बताउनुभयो। “आज टेकराजजीको कुशाकृतिबाट गरिएको अन्त्येष्टिमा सहभागी हुँदा पनि टेकराजजी हामीमाझ हुनुहुन्न भन्ने विश्वास नै लागेको छैन, उहाँ अब हामीसँग हुनुहुन्न भन्ने यथार्थ स्वीकार्न मनले मानिरहेको छैन,” अध्यक्ष शर्माले भन्नुभयो।
उहाँले थामीसँगका भेटघाट, सहकार्य र आत्मीय सम्बन्धका सम्झनाहरू अन्त्येष्टिका क्रममा झलझली आएको बताउनुभयो। पत्रकारिता क्षेत्रमा सक्रिय थामीको यसरी असामयिक बिदाइ हुनुपर्दा पत्रकारिता जगतले एक आत्मीय सहकर्मी गुमाएको उहाँको भनाइ छ।
अध्यक्ष शर्माले थामीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको निधनले परिवारजनसँगै सिंगो पत्रकारिता क्षेत्रलाई गहिरो पीडा दिएको बताउनुभयो। “टेकराजजीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। उहाँको निधनले हामी सबैलाई गहिरो पीडा दिएको छ, उहाँको अभाव सधैँ महसुस भइरहनेछ,” उहाँले भन्नुभयो।
अध्यक्ष शर्माले यस दुःखद् घटनाबाट परिवारजनमा परेको पीडाप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। “यो असह्य पीडा सहन सक्ने शक्ति परिवारजनमा प्राप्त होस् भन्ने कामना गर्दछु,” शर्माले भन्नुभयो।
उहाँको बिदाइले परिवार, आफन्त, सहकर्मी तथा पत्रकारिता क्षेत्रलाई शोकमा डुबाएको छ।












प्रतिक्रिया दिनुहोस्