काठमाडौं, असोज ४ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको चरौँदी–कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा आएपछि सवारीसाधनको चाप बढेको छ।
भदौ १० गतेको बाढीपछि अवरुद्ध भएको कृष्णभीर सडकमा वैकल्पिक ट्र्याक निर्माण गरी असोज १ गतेदेखि यातायात सञ्चालनमा ल्याइएको हो। करिब तीन सातासम्म यातायात प्रभावित भएपछि अहिले आवागमन सहज बन्दै गएको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक कटान र पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य सडकमा क्षति पुगेपछि यात्रु तथा सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो।
अहिले सडक दुईतर्फी सञ्चालनमा आएपछि निजी, सार्वजनिक तथा मालवाहक सवारीसाधनको चाप बढेको छ। तर सडक क्षेत्रमा जोखिम कायमै रहेकाले सावधानीपूर्वक सवारी चलाउनुपर्ने अवस्था रहेको छ।
तत्कालका लागि वैकल्पिक ट्र्याकबाट यातायात सञ्चालन भए पनि दीर्घकालीन समाधानका लागि क्षतिग्रस्त सडक तथा आसपासका संरचनाको प्राविधिक अध्ययन गरी पुनर्निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ।












प्रतिक्रिया दिनुहोस्