काठमाडौं, असोज ४ । नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल निश्कर्षबिहीन बनेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको १५ सदस्यीय कार्यदलको बैठक कुनै निर्णयमा पुग्न नसकी बिनानिश्कर्ष टुंगिएको हो ।
बैठकले निर्णय लिन नसकेपछि राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने निर्णय गरेर सेफल्याण्डिङको बाटो लिएको छ । आजको कार्यदल बैठकपछि सचिव महेश बस्नेतले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक डाक्ने विषयमा पार्टीलाई सुझाव दिने सर्वसम्मत निर्णय गरेको जानकारी दिनुभयो ।
सचिव बस्नेतका अनुसार बैठकले उपाध्यक्ष बादल, महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादलले मस्यौदा गर्नुभएको प्रतिवेदनलाई मिलाएर एकीकृत मस्यौदा बनाएर सचिवालयमा पेस गर्ने सहमति भएको दावी गर्नुभयो । यसअघि पनि यस्तै निर्णय भएको थियो ।
बस्नेतले पार्टीको विशेष महाधिवेशन नगर्ने तर विधान महाधिवेशनका बारेमा छलफल गरेर नियमित विधान अधिवेशनको विषयमा जान सकिने एकीकृत प्रतिवेदनमा उल्लेख गर्ने सहमति बनेको बताउनु भयो । ‘उठेका सबै कुरालाई तीन जना नेताले एकीकृत प्रस्ताव ल्याउने र साझा प्रतिवेदन पास हुन्छ’, बस्नेतको भनाइ छ ।
सचिव बस्नेतका अनुसार नेता प्रदीप ज्ञवालीले बनाएको प्रतिवेदनलाई महासचिव पोखरेलले तयार गरेको प्रतिवेदनमा समूहबाट आएका सुझाव समेट्ने सहमति कार्यदलमा भएको जानकारी पनि दिनुभयो । उहाँका अनुसार ७० बर्षे उमेर हद र २ कार्यकालबारे भोलिका दिनमा एजेन्डा बन्न सक्ने तर नियमित विधान महाधिवेशनबाटै त्यसको छिनोफानो हुनेमा कार्यदलमा लगभग सहमति जस्तै रहेको पनि बताउनु भयो ।
एमालेमा महासचिव शंकर पोखरेल र कार्यदल संयोजक बादल दुवैले आफ्ना बिचार प्रतिवेदनका नाममा बाहिर ल्याएपछि मतभेट बढेको छ । महासचिव पोखरेलले आफ्नो बिचारलाई कार्यदलको प्रतिवेदन भन्दै आफू निकट पत्रकारलाई दिएको आरोपसँगै संयोजक बादलको प्रतिवेदन पनि बाहिर सार्वजनिक गरिएको थियो ।
केन्द्रीय कार्यालय प्रमुख रहेका महासचिव र कार्यदल संयोजकले नै अनुशासनहीन काम गरी छलफल पहिला प्रतिवेदन सार्वजनिक गरी चरम अवसरवाद र प्रपोगाण्डा मच्चाएको ठहरसहित नेता प्रदीप ज्ञवालीले अर्को प्रतिवेदन पेश गरेपछि कार्यदलमै तनाव देखिएको हो ।
कार्यदलमा आफ्नो बहुमत रहेको भन्दै महासचिव पोखरेलले एकलौटी गरी नेतृत्व कब्जा गर्ने पूर्वयोजनाअनुसारको रणनीति अघि सारेको ज्ञवाली समहको आरोप छ । गत महाधिवेशनमा केपी ओलीको १० बर्ष बिकल्प छैन, ओलीको बिरोध गर्नेहरू एमाले हुनै सक्दैनन भन्ने घोषणा गरी ज्ञवालीलाई रोकेर आफै दोस्रो पटक महासचिव बन्नुभएका पोखरेलले नै ओली हटाउने अभियान चलाएपछि एमाले केन्द्रीय कमिटीको बहुमत बैठक अघि नै ओलीतिर खुलेको छ ।
यो तथ्यसँगै ज्ञवालीले पोखरेललाई सिधै काउन्टरसहित प्रतिवेदन लेख्नुभएको छ । आजको बैठकमा पोखरेल र थापाले सार्वजनिक गरिसक्नु भएको दुई प्रतिवेदनको निष्कर्ष निकाल्ने गरी बैठक तय गरिएपछि पूर्वउपमहासचिव ज्ञवालीले हिजो तेस्रो प्रतिवेदन पेश गर्नुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्