काठमाडौं, असोज ५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने जनाइएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग, मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, मधेस तथा कोसी र वाग्मती प्रदेशका तराई भू–भागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस्