जनता टाइम्स

५ आश्विन २०८३, सोमबार ०८:४२

बिहीबारदेखि चार दिन भारी वर्षाको सम्भावना, सतर्क रहन सुझाव


काठमाडौं, ५ असोज । बंगालको खाडीमा विकसित हुन सक्ने चक्रवातका कारण बिहीबारदेखि चार दिनसम्म नेपालमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूले बताउनुभएको छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना रहेको बताउनुभएको छ। उहाँका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलको अध्ययन गर्दा अधिकांश मोडेलले नेपालमा वर्षा हुने देखाएका छन्।

मौसम प्रणाली छिटो सरेमा वर्षाको अवधि छोटो हुन सक्ने भए पनि अहिलेको अवस्था हेर्दा तीनदेखि चार दिनसम्म पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो। लगातार धेरै दिन वर्षा हुँदा क्षतिको जोखिम बढ्न सक्ने भएकाले बेलैमा पूर्वतयारी गर्न उहाँले सुझाव दिनुभएको छ।

पोखरेलका अनुसार भारतको उत्तरपश्चिम क्षेत्रबाट आउने सुक्खा हावाले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीलाई रोक्दा नेपालमा बढी वर्षा हुने अवस्था बन्न सक्छ। केही पूर्वानुमान मोडेलले ५०० मिलिमिटरभन्दा बढी वर्षा हुने देखाएको उहाँले बताउनुभयो।

विभिन्न क्षेत्रमा वर्षाको प्रभाव देखिन सक्ने भए पनि तीनवटा मौसम पूर्वानुमान मोडेलले लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखाएकाले उक्त क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको उहाँले बताउनुभयो।

बंगालको खाडीमा अहिलेसम्म चक्रवात विकसित भइनसके पनि न्यूनचापीय प्रणालीका कारण नेपालमा पटक–पटक भारी वर्षा, बाढी र पहिरोको अवस्था सिर्जना हुने गरेको उहाँले बताउनुभयो। मनसुनको अन्त्यतिर हुने वर्षाले यसअघि नै भिजेको जमिनलाई थप कमजोर बनाउन सक्ने भएकाले जोखिम पहिचान गरी पूर्वतयारी गर्न आवश्यक रहेको उहाँको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले पनि बंगालको खाडीमा चक्रवात बन्ने अवस्था देखिए पनि अहिले नै यसको प्रभावबारे निश्चित रूपमा भन्न नसकिने बताउनुभएको छ। उहाँका अनुसार कहाँ, कति र कस्तो प्रकारको वर्षा हुन्छ भन्ने विषयमा थप अध्ययन र निरन्तर अनुगमन आवश्यक छ।

जल तथा मौसम विज्ञान विभागले समेत मौसम प्रणालीको निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार विशेष बुलेटिन जारी गर्ने जनाएको छ।

मौसमविद्का अनुसार मनसुन बाहिरिने समयमा पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण वर्षा एकै क्षेत्रमा केन्द्रित हुन सक्ने भएकाले असोजको वर्षाले थप जोखिम निम्त्याउन सक्छ। नेपालमा सामान्यतया अक्टोबर २ आसपास मनसुन बाहिरिने भए पनि कहिलेकाहीँ अक्टोबरको दोस्रो सातासम्म लम्बिने गरेको छ।

यसैबीच, भारतको उत्तर प्रदेश र बिहारमा समेत सेप्टेम्बर २५ देखि २८ सम्म अत्यधिक भारी वर्षाको सम्भावना रहेको मौसमसम्बन्धी पूर्वानुमानहरूले देखाएका छन्। बंगालको खाडीमा विकसित हुन सक्ने चक्रवातको प्रभाव भारत हुँदै नेपालसम्म पर्न सक्ने बताइएको छ।

विगतमा पनि चक्रवातका कारण नेपालमा हिमपहिरो, हिमआँधी, कृषि क्षति तथा आकस्मिक बाढी र मुसलधारे वर्षाको अवस्था देखिएको मौसमविद्हरूले बताउनुभएको छ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक पोखरेलका अनुसार पछिल्ला केही वर्षयता असोज महिनामा लगातार वर्षा हुने क्रम बढेको छ। उहाँले सन् २०२१ यता असोजमा लगातार वर्षा भइरहेको बताउनुभएको छ।

वल्र्ड वेदर एट्रिब्युसनको अध्ययनअनुसार मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले नेपालमा तीन दिनसम्म हुने भारी वर्षाको सम्भावना १८ प्रतिशतभन्दा बढी बढाएको र वर्षाको तीव्रता दोब्बर बनाएको उल्लेख छ। यस्तो वर्षाले कृषि, यातायात र पर्यटन क्षेत्रमा समेत प्रभाव पार्दै आएको जनाइएको छ।