काठमाडौं, ५ असोज । सामाजिक सञ्जालमा अशिष्ट तथा आधारहीन सामग्री सम्प्रेषण गरी विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा युट्युबर मनोजकुमार महतो पक्राउ परेका छन् ।
सिरहा प्रहरीले उदयपुर प्रहरीको सहयोगमा महतोलाई आइतबार दिउँसो चतरा पुलस्थित एक होटलबाट पक्राउ गरेको हो ।
लहान नगरपालिका–२४ निवासी महतोविरुद्ध सिरहा प्रहरीमा साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पारेको कसुरमा जाहेरी परेको छ । सोही जाहेरीका आधारमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताउनुभयो।
प्रहरीका अनुसार महतोले लामो समयदेखि सिरहाका जनप्रतिनिधि, पत्रकार, उद्योगी, व्यवसायी, राजनीतिकर्मी तथा राष्ट्रसेवक कर्मचारीलगायतका व्यक्तिबारे तथ्यहीन, धम्कीपूर्ण र अशिष्ट सामग्री सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै आएका थिए ।
प्रारम्भिक अनुसन्धानबाट महतोले आफूसँग स्वचालित हतियार रहेको तथा आफू जनतान्त्रिकका पूर्वलडाकु भएको दाबी गर्दै केही व्यक्तिलाई धम्की दिने र हतियारको तस्बिर पठाएर आपराधिक लाभ लिएको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
यस्ता गतिविधिबाट पीडित भएका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सिरहाले सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार महतो यसअघि पनि पटक–पटक पक्राउ परेका थिए । उनीविरुद्ध दर्ता भएका केही मुद्दा अदालतमा विचाराधीन रहेको जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्