जनता टाइम्स

१३ पुष २०७६, आईतवार ११:५२

नेकपाले टुंगो लगायो प्रदेश ३ को राजधानी र नाम


काठमाडौं, पुष १३

प्रदेश–३ को नाम बाग्मती राखिने भएको छ । प्रदेशसभामा दुई तिहाई बहुमत रहेको नेकपाले प्रदेशको नाम बाग्मती राख्ने निर्णय गरेकाले यो नाम पारित हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सचिवालय बैठकले नाममा सहमति जुटाएपनि राजधानीका विषयमा आधिकारिक निर्णय गरेको छैन ।

यद्यपी बैठकले सहमति नजुटे तत्कालका लागि हेटौंडा नै कायम राख्ने बताइएको छ । केही दिनभित्र पुन छलफल गरेर राजधानी टुंगो लगाइने तयारी नेकपाको छ । त्यसका लागि प्रदेशसभा सदस्यसँग पनि छलफल हुने एक नेताले जानकारी दिए । सचिवालय बैठकले प्रदेशको नाम वाग्मती कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन । राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन । प्रदेशसभाका १ सय १० सिटमा ८० जना नेकपाका रहेका छन् ।