जनता टाइम्स

३० बैशाख २०७६, सोमबार ०७:४२

मुम्बई इन्डियन्सले जित्यो आईपीएल उपाधि, चेन्नई सुपर किङ्सलाई लाग्यो झड्का


हैदराबाद, बैशाख ३०

बाहौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति हैदराबादमा भएको फाइनल खेलमा चेन्नई सुपर किङ्सलाई एक रनले पराजित गर्दै मुम्बईले चौथो पटक उपाधि जितेको हो । २०औं ओभरको अन्तिम बलमा लासिथ मालिंगाले चेन्नईका शार्दुल ठाकुरलाई एलबीडब्लुको धरापमा पार्दै मुम्बईलाई रोमाञ्चक जित दिलाए ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४९ रन बनाएको थियो । मुम्बईका काइरन पोलार्डले अविजित ४१ रन बनाए । क्विन्टन डी ककले २९, इसन किसनले २३, हार्दिक पान्ड्याले १६, कप्तान रोहित शर्मा र सूर्यकुमार यादवले समान १५र१५ रन जोडे । चेन्नईका दीपक चाहरले तीन तथा शार्दुल ठाकुर र इमरान ताहिरले दुई दुई विकेट लिए ।

एक सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईका सेन वाटसनले ८० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । फाप डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन बनाए । मुम्बईका जसप्रित बुमराहले दुई तथा कुणाल पाड्या, लासिथ मालिंगा र राहुल चाहरले एक÷एक विकेट लिए ।

आईपीएलको फाइनलमा मुम्बई र चेन्नईबीच भिडन्त भएको यो चौथो पटक हो । सन् २०१० मा भएको फाइनलमा चेन्नईले मुम्बईलाई हराएको थियो । त्यसपछि सन् २०१३ र सन् २०१५ मा भएको फाइनलमा मुम्बईले चेन्नईलाई हराउँदै उपाधि हात पारेको थियो ।

प्रतियोगिताको १२औं संस्करणको फाइनल खेल सकिनुअघि साविक विजेता चेन्नई र मुम्बई दुवैले तीन÷तीन पटक उपाधि जितेका थिए । यसैगरी सन् २००८ देखि सुरु भएको आईपीएलमा कोलकाता नाइट राइडर्सले दुई तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजस् हैदराबादले एक÷एक पटक उपाधि चुमेका छन् ।

यसपटक प्रतियोगिताको पहिलो क्वालिफायरमा चेन्नईलाई नै हराउँदै मुम्बई फाइनलमा पुगेको थियो । चेन्नईले भने दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । यसपटक प्रतियोगिताको पहिलो हुने टोलीले २५ करोड भारतीय रुपैयाँ (४० करोड नेपाली रुपैयाँ) पुरस्कार हात पा¥यो ।

यसैगरी दोस्रो हुने टोलीले १२ करोड ५० लाख भारतीय रुपैयाँ (२० करोड नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो हुने टोली दिल्ली क्यापिटल्सले १० करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार पायो भने चौथो हुने टोली सनराइजर्स हैदराबादको भागमा आठ करोड ५० लाख भारतीय रुपैयाँ पुरस्कार परेको छ ।