जनता टाइम्स

१३ पुष २०७६, आईतवार १५:१७

आगामी निर्वाचनमा नेकपा एक्लैले दुई तिहाइ बहुमत ल्याउने अध्यक्ष प्रचण्डको घोषणा, यस्तो दिनुभयो आधार


चितवन, पुष १३

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संस्थागत रुपमा काम गरेर अझै उत्साहपुर्ण वातावरण बनाइने घोषणा गर्नुभएको छ । उहाले सरकारले आउदो तीन वर्षमा अझै उच्चस्तरको काम गर्ने बताउनु भयो ।

गृहजिल्ला चितवनको इच्छाकामना गाउँपालिका कमिटीको आइतबार शपथ ग्रहणमा बोल्दै अध्यक्ष प्रचण्डले संस्थागत किसिमले कार्यक्रम चलाइसकेपछि उत्साहपूर्ण वातावरण सिर्जना हुने बताउनु भयो । उहाले आगामी तीन वर्षको सरकार र पार्टीको कामले नेकपा एक्लैले दुई तिहाइ मत ल्याउने वातावरण सिर्जना गर्ने दाबी समेत गर्नुभयो । “आउने दिनमा संस्थागत किसिमले कार्यक्रम चलाइसकेपछि उत्साहपूर्ण वातावरण सिर्जना गर्न सकिन्छ,” उहाले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीले मात्रै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा र सम्वर्धन गर्न सक्ने दाबी गर्नुभयो । त्यस्तै नेकपाले मात्रै विकास र समृद्धिको राष्ट्रिय आकांक्षाको सम्बोधन गर्न सक्ने बताउनु भयो । “यो स्थापित तथ्य हो । अझै बढी मिहनेत गरेर आउने दिनमा यसलाई स्थापित गर्नुपर्छ,” उहाको भनाई छ ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको कुरामा सरकार, पार्टी गम्भीर रहेको बताउँदै एक इन्च भूमि पनि नछोडिने प्रष्टीकरण दिनुभयो । उहाले यो विषय कूटनीतिक तरिकाले समाधान गरिने पनि जानकारी दिनुभयो ।