जनता टाइम्स

१३ पुष २०७६, आईतवार २०:३९

शहरको सुन्दरता कुरुप पार्ने होर्डिङ बोर्डदेखि पोस्टरबिरुद्ध कठोर बन्यो काठमाडौं महानगर, १४ संस्थालाई गर्यो जरिवाना


काठमाडौं, पुस १३ । काठमाडौं महानगरपालिकाले शहर कुरुप पार्ने गरी होर्डिङ बोर्ड राख्नेदेखि पोस्टर टाँस्ने १४ फर्म तथा ब्यक्तिलाई कार्वाही गरेको छ । मेयर बिद्यासुन्दर शाक्यले कडा निर्देशनसहित सवैतिर काम अघि बढाउन निर्देशन दिनुभएपछि नगर प्रहरीले जथाभावी होर्डिङ बोर्ड राख्नेदेखि पोष्टर टाँस्ने संस्था तथा ब्यक्तिमाथि कार्वाही गरेको हो ।

महानगरले आज १४ जनालाई पक्राउ गरी जरिवाना गराएर छाडेको छ । जरिवानाबाट आज मात्रै महानगरले ७० हजार राजश्व असुली गरेको हो । काठमाडौं महानगरको टोलीले आज पुतली सडकबाट १, सोह्रखुट्टेबाट १, त्रिपुरेश्वरबाट १ गरी तीन ओटा होर्डिङ्ग बोर्ड समेत हटाएको छ । महानगरपालिकाले शुक्रवारबाट सहरलाई नै कुरुप बनाउने गरी चोक–चोकमा राखिएका होर्डिङबोर्डलाई हटाउन सुरु गरेको हो । सफा, स्वच्छ र सुन्दर सहर बनाउने योजना अनुरुप नै विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायतलाई महानगरले हटाउने प्रक्रिया सुरु गरेको मेयर शाक्यले बताउनु भयो ।

शुक्रवार तीनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका चार ओटा ठूला होर्डिङ्बोर्ड हटाएको थियो । शुक्रवार महानगरपालिकाले भित्ते लेखन तथा सडकमा जथाभावी माटो खसाल्ने १० कम्पनी र व्यक्तिलाई कारवाही गरेको थियो । भोटाहिटी नजिक कालोपत्रे सडकमा माटो खसालेको भन्दै महानगरपालिकाले जेटीसीलाई २५ हजार जरिमाना गराएको हो । त्यसैगरी जथाभावी होडिर्ङवोर्ड र पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र काठमाडौँ जव इम्प्लोइमेण्टलाई ५ हजार जरिमाना तिराएको छ । यस्तै सेन्ट जेभियर्स र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि महानगरपालिकाले क्रमशः पाँच–पाँच हजार जरिमाना तिराएको छ ।

भित्तेलेखनलगायत सहरी दृश्य प्रदुषण हुने प्रचार सामाग्री हटाउने कामलाई महानगरले सोमवारबाट कम्तीमा तीन ओटा टोली बनाएर महानगरभरी नै परिचालन गर्ने भएको छ । नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर हामीले सहर सुन्दर बनाउने अभियानलाई तिव्रता दिन यो अभियान चलाएको हो ।