जनता टाइम्स

१४ पुष २०७६, सोमबार १०:१२

अंग्रेजी नयाँ वर्षसँगै हिमपातको सम्भावना


काठमाडौं, पुष १४

अंग्रेजी नयाँ वर्षमा घुमघामको तयारीमा हुनुहुन्छ भने केही सजग रहनु होला । सो समयमा वर्षा र हिमपातको सम्भावना रहेको मौषम विभागले जानकारी दिएको छ ।

नयाँ वर्षको अघिल्लो दिन भोलि मंगलबारदेखि नै मौसममा गडबड आउने संकेत जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । सो महाशाखाका अनुसार भोलि मंगलबार दिउँसो र राति देशैभरी मौसम बदली रहनेछ ।
महाशाखाले बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पश्चिमी र पूर्वी पहाडी भूभागमा हल्का बर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुने सम्भावना औंल्याइएको छ । बुधबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुने जनाइएको छ ।

महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने विकसित भएको छैन । तराईमा केही दिनदेखि लागिरहेको बाक्लो कुहिरो सोमबार आजदेखि कम हुने मौसमविद्ले बताएका छन् । तराईमा अहिले पनि बाक्लो कुहिरो र हुस्सु लागे पनि दिउँसोदेखि बिस्तारै कम हुँदै जाने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

मंगलबार बिहान पनि केहीबेर हुस्सु लाग्ने सम्भावना भए पनि दिउँसो खुल्ने र बेलुकातिरबाट पश्चिमी वायुको प्रभाव पर्न थाल्ने भएकाले तराईको मौसम सफा हुँदै जाने उहाँले बताउनुभयो । केही दिनदेखि घाम नलाग्दा तराईको जनजीवन प्रभावित भएको छ । यसैबीच आइतबार १ डिग्री सेल्सियस रहेको काठमाण्डौको तापक्रम सोमबार बिहान १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।