जनता टाइम्स

१४ पुष २०७६, सोमबार ११:३५

बेलायतका राजकुमार चाल्र्सले ३७ वर्ष अगाडी हिडेको त्यो ‘रोयल ट्रेक’ पदमार्ग


वासुदेव पौडेल \ पोखरा, पुस १४

समग्र गण्डकी प्रदेश नै पदयात्रा पर्यटनमा ख्याति कमाएको क्षेत्र हो । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्गदेखि धौलागिरि पदमार्ग, मर्दी पदमार्ग हुँदै सहस्राब्दी पदमार्ग यहाँका चर्चित पदमार्ग हुन् । बेलायतका राजकुमार चाल्र्सले २०३९ सालमा पदयात्रा गरेको यहाँको अर्को महत्वपूर्ण पदमार्ग हो ‘रोयल ट्रेक’ ।

सरकारको नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी अन्तिम चरणमा पुगिरहेका बेला कास्कीको रुपा गाउँपालिका यतिखेर बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको पदमार्गको प्रवद्र्धनका साथै पूर्वाधार विकासमा लागिपरेको छ । ‘रोयल ट्रेक’ का रूपमा गाउँपालिकाले रुपा गाउँपालिका–६ खोलाको छेउदेखि युवराज चाल्स हिँडेका र बसेका ठाउँलाई समेट्दै यसको प्रवद्र्धन र विकासमा लागेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । “पदयात्रा मार्गबाट देखिने मनोरम हिमाली दृश्य र ठाउँ ठाउँमा पर्ने ऐतिहासिक कोट एवं यहाँका संस्कृतिलाई समेट्दै हामीले रोयल ट्रेकको विकास गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “पूर्वाधार विकासका साथै राजकुमारले हिँडेको बाटोलाई पहिचान गरी नेपाल भ्रमण वर्षका अवसरमा पूर्वाधार विकास र प्रवद्र्धनका धेरै कार्यक्रम सञ्चालन गरिने छ ।”

रोयल ट्रेकको विकासका लागि यस आर्थिक वर्षमा नेपाल सरकारले रु ५० लाख र गाउँपालिकाले रु २० लाख छुट्याएको उहाँले जानकारी दिनुभयो । राजकुमार चाल्र्सले विजयपुरस्थित चाँपको चौरबाट पदयात्रा थाल्नुभएको थियो । उहाँ पहिलो दिन विजयपुर माथिको चिन्तेको डाँडामा पुगी रात बिताउनुभएको थियो । दोस्रो दिन उहाँले कालिका, सौरे, लिपयानी, राम्चे, हुँदै स्याक्लुङको डाँडामा पुगी दोस्रो रात बिताउनुभएको थियो ।

तेस्रो दिन रुपाकोटको चिसापानीमा बास बसेका चाल्र्स बेगनास तालको जङ्गलमा चौथोे रात बिताएर काठमाडौँ फर्कनुभएको थियो । चाल्र्स फर्केसँगै उहाँले पदयात्रा गरेको मार्गलाई रोयल ट्रेकका रुपमा लिइए पनि त्यसयता लामो समयसम्म यसले गति लिन नसकेको वास्तविकतासँगै गाउँपालिकाले पहलकदमी शुरु गरेको हो ।

चाल्र्सले पदयात्रा गरेपछि उहाँ हिँडेको पदमार्ग कस्तो रहेछ भन्ने जिज्ञासाका कारण फाट्टफुट्ट पर्यटक आउन थालेसँगै यस क्षेत्रले पदयात्रा पर्यटनका क्षेत्रमा विस्तारै चासो र चर्चा पाउन थालेको स्थानीयवासी बताउँछन् । द्वन्द्वकालपूर्व गति लिने लक्षण आइसकेको बताउने यहाँका स्थानीयवासी पर्यटक आउन थालेसँगै यहाँका स्थानीय उत्पादनले बजार पाउन थालेको, ठाउँठाउँमा पर्यटक लक्षित होटेल सञ्चालनमा आउने क्रम बढेको अनुभव सुनाउँछन् । द्वन्द्वकालको प्रभाव अन्यत्रजस्तै यस क्षेत्रमा पनि परेपछि यो विस्तारै ओझेलमा पर्दै गएको थियो ।

पछिल्ला समयमा यसको प्रवद्र्धनका लागि हाइकिङलगायतका कार्यक्रम पनि अघि बढाइएको छ । पदयात्रा पर्यटनमा रोयल ट्रेकको आफ्नै महत्व रहेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुभयो । रोयल ट्रेकको प्रवद्र्धनका लागि टानका तर्फबाट सक्दो सहयोग पु¥याउने बताउँदै उहाँले पदमार्ग सञ्चालनका लागि अत्यावश्यकीय पूर्वाधार विकास पहिलो प्राथमिकतामा रहनुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाले रेयल टे«कको विकासका लागि रुपा गाउँपालिका–६ खोलाको छेउबाट पदमार्ग क्षेत्रका ठाउँठाउँमा बाटो निर्माणसहित अन्य पूर्वाधार निर्माण गर्ने तयारीमा जुटेको गाउँपालिका अध्यक्ष ओझाले बताउनुभयो ।

उहाँका अनुसार पदमार्गअन्तर्गत खोलाको छेउबाट भँगरा, किराको खोर हुँदै भीरचोक पुग्न सकिन्छ । भीरचोकमा रहेको दृश्यावलोकन स्तम्भबाट पोखरा महानगरका सातवटा ताल, धौलागिरिदेखि माछापुच्छ«े, अन्नपूर्ण, लमजुङ हुँदै गोरखासम्मका दृश्य यहाँबाट नियाल्न सकिन्छ । त्यस्तै भीरचोकबाट पदयात्रीहरू चिसापानी पुग्दछन् । त्यहाँ क्याम्पिङ स्पोट्र्स रहेका कारण क्याम्पिङ गरेर बस्न चाहने पर्यटकलाई त्यो सुविधा छ । चिसापानीमा रहेको राउन्ड पार्कबाट विभिन्न दृश्यावलोकन गर्न सकिन्छ ।

चिसापानी पुगेका पर्यटक त्यहाँबाट ओरालो मोहोरिया हुँदै सौरवास पुग्छन् । त्यस्तै सौरवासबाट उकालो बाटो स्याक्लुङकोट पुग्न सकिन्छ । नेपालका बाइसेचौबीसे राजाको पालाको यो कोट र नजिकै इन्द्र गुफा पनि छ । इन्द्र गुफाबाट उहिले काठमाडौँको धरहरा देखिन्थ्यो भन्ने बूढापाका बताउँछन् । यहाँबाट पनि मनोरम हिमाली दृश्यका साथै कास्की, तनहँु, स्याङजा, लमजुङलगायतका जिल्लाका दृश्य एकसाथ नियाल्न सकिन्छ । स्याक्लुङकोटबाट लिपेनी हुँदै कालिका र कालिकाबाट मादी पुगेपछि रोयल ट्रेक सम्पन्न हुने अध्यक्ष ओझाले बताउनुभयो ।

यी विभिन्न ठाउँमा पर्यटक लक्षित पूर्वाधार, होटल आदि सञ्चालन गर्न सक्ने हो भने यो पदमार्ग क्षेत्रमा झण्डै छ÷सात दिनसम्म पर्यटकलाई हिँडाउने सम्भावना रहेको उहाँको भनाइ छ । युवराज चाल्र्सले कालिका र यस आसपासका क्षेत्रमा पदयात्रा गरेका ठाउँलाई समेट्दै तिनीहरूको प्रवद्र्धन र विकासका लागि वडाका तर्फबाट पहल भइरहेको पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष निर्मल दियालीले बताउनुभयो । “युवराज चाल्र्स बसेको चिन्तेको डाँडा र यस आसपासमा पर्यटकीय सम्भावनालाई उजागर गर्दै पूर्वाधार विकास गर्ने हाम्रो तयारी छ”, उहाँले भन्नुभयो ।