मूख्य समाचारसमाचारसमाजसुदुरपश्चिम

युवतीसहित पक्राउ परे कांग्रेसबाट निर्वाचित मेयर

दार्चुला, पुस १४

दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित एक डान्स बारबाट पक्राउ परेका छन् । नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित धामी महेन्द्रनगरस्थित ब्लू डान्स बारबाट पक्राउ परेका हुन् । स्रोतका अनुसार डान्स बारबाट मेयर धामीसहित केही युवतीलाई समेत नियन्त्रणमा लिइएको हो । डान्स बारमा मदिरा पिएर हो–हल्ला गरेपछि मेयर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मेयर धामीलाई पक्राउ गरेको हो । डान्स बारमा काम गर्ने केही युवतीले आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीको टोली डान्स बार पुगेको थियो । वडा प्रहरी कार्यालयका एक प्रहरी कर्मचारीका अनुसार प्रहरीको टोली डान्स बार पुग्दा दुबै पक्षबीच विवाद चलिरहेको थियो । प्रहरीको टोलीले डान्स बारमा विवाद गर्ने व्यक्तिलाई पक्राउ गरेर केहीलाई जिल्ला प्रहरी कार्यालय र केहीलाई वडा प्रहरी कार्यालय पुर्याएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएपछि धामीले आफू जनप्रतिनिधि भएको भन्दै आफूलाई तत्काल रिहा गर्न प्रहरी कर्मचारीलाई नै चेतावनी दिएका थिए । यता आइतबार राति पक्राउ परेका धामी सोमबार बिहान नै रिहा भइसकेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले डान्स बारमा हो–हल्ला गर्ने व्यक्तिलाई नियन्त्रणमा लिँदा मेयर धामी पनि केही समयका लागि जिप्रका आएको बताउनुभयो ।

Comment here