जनता टाइम्स

१४ पुष २०७६, सोमबार १४:४९

संघीयता अनुकूल हुनेगरी मन्त्रालयले छिट्टै राष्ट्रिय कार्ययोजना तय गर्ने मन्त्री गुरुङको घोषणा


काठमाडौं, पुस १४

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले संघीयता अनुकूल हुनेगरी मन्त्रालयले छिट्टै राष्ट्रिय कार्ययोजना तय गर्ने बताउनुभएको छ । मन्त्री गुरुङले बालबालिका, महिला, अपांगता भएका व्यक्तिहरुसम्बन्धि राष्ट्रिय कार्ययोजना ल्याउन ढिलाई नगर्ने पनि बताउनुभएको हो ।

सिविन, नेपालले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्पलाई पूरा हुने गरी मन्त्रालयले महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरुको राष्ट्रिय कार्य योजना तय गर्ने कामलाई अघि बढाएको पनि बताउनुभयो ।

‘समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा हुने गरी मन्त्रालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलाई समेत लक्षित गरेर महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरुसम्बन्धि राष्ट्रिय कार्ययोजना बनाउने कामलाई तीव्रता दिएको छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘ती कार्ययोजनाहरुको निर्माणमा आवश्यक सुझाव दिन म सरोकारवाला सबै निकायलाई आह्वान गर्दछु ।’

मन्त्री गुरुङले प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर मात्रै मन्त्रालयले आफ्ना कार्य योजनाहरु तय गर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले दीगो विकास लक्ष्य हासिल हुनेगरी आवश्यक ऐन, कानुन संशोधन गरेर अघि बढने काममा जोड दिइएको पनि बताउनुभयो ।