काठमाडौं, असोज २३ । फ्लाई दुबईको विमानमा सह-पाइलटको आक्रमणका बाबजुद १७४ यात्रु र चालक दलका सदस्यको ज्यान जोगाउने भारतीय पाइलट स्मित मच्छरलाई इजरायलले सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने भएको छ।
इजरायली राष्ट्रपति इसाक हर्जोगले पाइलट मच्छर उपचारबाट निको भएपछि ‘प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइजम’ प्रदान गरिने घोषणा गर्नुभएको छ। उहाँले मच्छरको बहादुरी र व्यावसायिकताले ठूलो दुर्घटना हुनबाट जोगाएको बताउनुभएको छ।
गत सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको विमानमा ओमानी सह-पाइलटले क्याप्टेन मच्छरमाथि आक्रमण गरेका थिए। टाउकोमा चोट लागेर दृष्टिसमेत धमिलो भए पनि मच्छरले ककपिटको ढोका खोल्न सफल हुनुभएको थियो। त्यसपछि अन्य चालक दलका सदस्य र यात्रुले स्थिति नियन्त्रणमा लिन सहयोग गरेका थिए।
विमानलाई साउदी अरबतर्फ मोडेर आपत्कालीन अवतरण गराइएको थियो। यसबाट विमानमा रहेका यात्रु र चालक दलका सदस्यको ज्यान जोगिएको समाचारमा उल्लेख छ।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मच्छरसँग फोनवार्ता गर्दै उहाँको बहादुरीको प्रशंसा गर्नुभएको थियो। नेतन्याहुले मच्छर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायलको स्वतन्त्रता दिवसको विशेष समारोहमा सहभागी हुन निमन्त्रणासमेत दिनुभएको छ।
घटनाबारे नेतन्याहुसँग कुरा गर्दै मच्छरले सह-पाइलटले प्रार्थना गर्ने इच्छा व्यक्त गरेपछि आफूले कुनै असामान्य कुरा नठानेको बताउनुभएको थियो। केही मिनेटपछि पछाडिबाट टाउकोमा प्रहार हुन थालेपछि मात्रै आफू आक्रमणमा परेको थाहा पाएको उहाँले सुनाउनुभएको थियो।
गम्भीर चोटका बाबजुद ककपिटको ढोका खोलेर सहयोगीहरूलाई भित्र प्रवेश गर्ने अवस्था बनाउनु नै विमानलाई सुरक्षित अवतरण गराउने दिशामा निर्णायक बनेको उहाँको भनाइ थियो।













प्रतिक्रिया दिनुहोस्