जनता टाइम्स

१४ पुष २०७६, सोमबार १८:२५

प्रधानसेनापति थापाको कठोर नीतिपछि धमाधम जान थाल्यो पावरफूल अधिकृतको जागिर, कर्णेल नै बखास्त


काठमाडौं, पुस १४ । प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनामा अघि बढाएको सुधारको योजनापछि आर्थिकदेखि चारित्रिक बिचलनमा परेका अधिकृतहरु धमाधम कार्वाहीमा परेका छन । सेनाको इतिहासमै पहिलो पटक सम्पत्ति बिवरण सार्वजनिक गरी आर्थिक अनियमितताबिरुद्ध कठोर कदमसहित सेनाभित्र सुधारको योजना अघि बढाउनुभएका थापाको कार्यकालमा अनैतिक काममा संलग्न हुनेहरु कार्वाहीमा परेका हुन ।

आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागिरबाट हात धनुपरेका महासेनानी प्रेम थापापछि पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी पनि बर्खास्तमा परेका छन । आफू मातहत रहेकी जमदारको संवेदनशील अंगमा हात पुर्याएको कसुरमा रेग्मी बर्खास्त हुनुपरेको हो । बिगतमा जे गरे पनि कार्वाहीमा नपर्ने गरेपछि सेनाभित्र यस्ता प्रबृत्ति मौलाएको थियो । तर प्रधानसेनापति थापाले इतिहासलाई क्रमभंग गरिदिनुभएपछि रेग्मी जस्ता सैनिक अधिकृतहरु बर्खास्तगीमा परेका हुन ।

सैनिक मुख्यालय स्रोतका अनुसार रेग्मी जस्तै अन्य कर्मचारी पनि कार्वाहीमा परेका छन । जसअनुसार मेकानिकल इञ्जिनियरिङतर्फ धनगढीमा कार्यरत एक मेजर चरित्रहीन काम गरेको पाइएपछि घटुवामा परेका छन । सेनाभित्रकै एकल महिलासँग फेसबुकमा नांगिने क्रममा महिलाकी छोरीको उजुरीपछि ती मेजर घटुवामा परेका थिए । घटुवासँगै उनले राजीनामा दिएका छन् । यस्तै सैनिक हस्पिटल छाउनीमा एक महिला सिपाहीसँँग अबैध सम्बन्ध राखेको पाइएपछि एक महरा थरका जमदारसहित दुई जनाको जागिर गएको छ । उनीहरुलाई ३ महिने जेल सजाय तोकेर कारागार चलान गरिएको सैनिक मुख्यालय स्रोतले बतायो ।

‘सेनाभित्र सुधार योजना अघि बढेपछि जुनसुकै तहका अधिकृत पनि कार्वाहीमा पर्न थालेका छन, आर्थिकदेखि चारित्रिक घटनासम्म सैनिक मुख्यालयले कडाइका साथ निगरानी अघि बढाएको छ,’ सेनापति थापाको सचिवालयमा कार्यरत एक अधिकृतले जनताटाइम्ससँग भने । ती अधिकृतका अनुसार सेनापति थापाले अपराधसँग आफू कुनै पनि संझौता नगर्ने भन्दै सवै तहमा रहेका अधिकृत र कमाण्डरलाई कडा निर्देशन दिनुभएको छ ।