जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार २०:३८

कक्रोच जनता पार्टीको प्रदर्शनमा तीन पूर्व मुख्यमन्त्रीसहित सयौँ पक्राउ


काठमाडौं, असोज २४ । भारतमा कक्रोच जनता पार्टी (सीजेपी) ले गरेको विरोध प्रदर्शनका क्रममा तीन पूर्व मुख्यमन्त्रीसहित सयौँ जना पक्राउ परेका छन्।

नवयुवाहरूको नेतृत्वमा भएको प्रदर्शनलाई रोक्न दिल्लीमा दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। पार्टीका अनुसार प्रहरीले प्रदर्शनअघि नै पक्राउ गर्न थालेको थियो। सीजेपीका नेता अभिजित दिपकेलाई दिल्ली विमानस्थलमा जहाजभित्रैबाट पक्राउ गरिएको छ। नेता सौरभ दास र आशुतोष राङ्का पनि पक्राउ परेका छन्।

प्रदर्शनका क्रममा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, केरलाका पूर्वमुख्यमन्त्री पिनाराई विजयन र पश्चिम बङ्गालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीलाई समेत प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख छ।

प्रदर्शनकारीहरूले चुनावी प्रणालीमा सुधार गर्न र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने माग गरेका छन्। मतदाता नामावलीबाट ठूलो सङ्ख्यामा मतदाताको नाम हटाइएको उनीहरूको आरोप छ। तर, भारतको निर्वाचन आयोगले उक्त आरोप अस्वीकार गरेको छ।

प्रहरीले प्रदर्शनका लागि अनुमति नदिइएको जनाएको छ। प्रदर्शनलाई लक्षित गर्दै दिल्लीका नयाँ दिल्ली र हजरत निजामुद्दीन रेल स्टेसनबाट सञ्चालन हुने २५० भन्दा बढी रेल सेवा रद्द गरिएको छ। दिल्ली मेट्रो रेल कर्पोरेसनले ४५ वटा मेट्रो स्टेसनका प्रवेश तथा निकास बन्द गरेको जनाएको छ। सरकारले केही क्षेत्रमा इन्टरनेट सेवासमेत अवरुद्ध गरेको समाचारमा उल्लेख छ।