जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार ०७:३९

च्याम्पियन्स लिगमा आर्सनलको शानदार जित, सात मिनेटमै तीन गोल


काठमाडौं, असोज २८ । यूईएफए च्याम्पियन्स लिगमा आर्सनलले फ्रान्सेली क्लब लिललाई ३–० गोलले पराजित गरेको छ। मंगलबार राति घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले दोस्रो हाफमा सात मिनेटभित्र तीन गोल गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जुरियन टिम्बरले ६०औँ मिनेटपछि गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।

त्यसपछि एबेरेची एजेले बुकायो साकाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। साकाले काई हाभर्ट्जको पासमा तेस्रो गोल थप्दै आर्सनलको जित सुनिश्चित गरे।

यस जितसँगै आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितको यात्रा कायम राखेको छ। प्रशिक्षक मिकेल आर्टेटाले अघिल्लो खेलको टोलीमा पाँच खेलाडी परिवर्तन गरे पनि आर्सनलले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गरेको थियो।

खेलको अन्तिम समयमा आर्सनलका पूर्वखेलाडी ओलिभियर जिरुड लिलका लागि मैदान प्रवेश गर्दा घरेलु समर्थकले स्वागत गरेका थिए। जिरुडले आर्सनलमा छ वर्ष बिताउँदा १०५ गोल गरेका थिए।

पहिलो खेलमा रियल बेटिससँग पराजित भएको लिलले आर्सनलसँगको हारपछि पनि च्याम्पियन्स लिगमा अंक जोड्न सकेको छैन।