जनता टाइम्स

२९ आश्विन २०८३, बिहीबार ०७:५१

गुल्मीमा भाउजुको हत्या आरोपमा देवर पक्राउ, ससुरा पनि प्रहरी नियन्त्रणमा


काठमाडौं, असोज २९ । गुल्मीमा भाउजुको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ। अनुसन्धानका लागि उनका ७६ वर्षीय बुवालाई पनि नियन्त्रणमा लिइएको छ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका–२, खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्री रहेका छन्। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी उनले कुटपिट गर्दा घाइते भएकी ४२ वर्षीया लीला खत्रीको उपचारका क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते लीलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको थियो। बुधबार बिहान करिब ११ बजे उनका छोरा हिराबहादुर खत्रीले उनलाई अस्पतालबाट घर लगेका थिए।

घटनाबारे शंका लागेपछि प्रहरीले लीलालाई गुल्मी जिल्ला अस्पताल, तम्घासमा स्वास्थ्य परीक्षणका लागि पुर्‍याएको थियो। चिकित्सकले बुधबार दिउँसो २ बजे उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनाको अनुसन्धानका लागि बलबहादुरका ७६ वर्षीय बुवा भक्तबहादुर खत्रीलाई पनि पक्राउ गरेको छ। लीलाको उपचारमा उनका अर्का देवर चन्द्रबहादुर खत्री संलग्न रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।