सुर्खेत, असाेज २९ । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको मान्ममा गुडिरहेको फोर्स गाडीमा आगलागी हुँदा गाडी र यात्रुका सामान जलेर नष्ट भएका छन्। चालकको सतर्कताका कारण गाडीमा सवार तीन बालबालिकासहित २१ जना यात्रु भने सकुशल रहेका छन्।
बुधबार अपराह्न करिब ४ बजे कालीकोटको खाडाचक्र नगरपालिका–१, मान्मस्थित जिल्ला अस्पतालको उकालोमा आगलागी भएको हो। सुर्खेतबाट नाग्मका लागि छुटेको भे १ ख ४०९४ नम्बरको गाडीको इन्जिन तातिएपछि आगलागी भएको बताइएको छ।
गाडीमा अचानक धुवाँ देखिएपछि चालक चन्द्रदेव मगरले तत्काल यात्रुहरूलाई बाहिर निस्कन आग्रह गरेका थिए। चालकको निर्देशनअनुसार सबै यात्रु बाहिर निस्किएपछि सम्भावित मानवीय क्षति हुन पाएन। यद्यपि, आगो तीव्र रूपमा फैलिँदा गाडी र यात्रुका सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कालीकोटबाट १५ जना प्रहरीको टोली चारवटा आगो निभाउने उपकरणसहित घटनास्थल पुगेको थियो। प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि गाडी र यात्रुका सामान जोगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताएका छन्।
गाडीमा सवार एक यात्रुका अनुसार चालकले आगलागी भएको जानकारी गराएलगत्तै सबै यात्रु बाहिर निस्किएका थिए। गाडी तीव्र गतिमा चलाइएकाले इन्जिन तातिएको हुन सक्ने ती यात्रुको अनुमान छ। घटनामा मानवीय क्षति नभए पनि गाडी र यात्रुका सामान जलेर नष्ट हुँदा भौतिक क्षति भएको छ।














प्रतिक्रिया दिनुहोस्