काठमाडौं, असोज २९ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ।
मन्त्री साहको सचिवालयका अनुसार भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
भेटमा दुई देशबीच व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक साझेदारीका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो।
त्यसैगरी, उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर पहिचान गर्ने, व्यापारिक सहकार्यलाई प्रभावकारी बनाउने र दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।
भेटले नेपाल–चीनबीच आपसी हित, आर्थिक समृद्धि र पारस्परिक सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य अघि बढाउने महत्त्वलाई उजागर गरेको मन्त्री साहको सचिवालयको भनाइ छ।














प्रतिक्रिया दिनुहोस्