काठमाडौं, असोज २९ । उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गर्न सकिने दुई प्रकारका रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको छ।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार बुधबार गरिएको परीक्षण नौसैनिक क्षमताको प्रभावकारिता र प्रतिरोधात्मक हतियारको विश्वसनीयता जाँच्ने उद्देश्यले गरिएको हो।
बिहीबार सार्वजनिक गरिएको विवरणअनुसार उत्तर कोरियाको पूर्वी तटबाट टाढा समुद्रमा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा वरिष्ठ सैन्य अधिकारीहरू उपस्थित थिए।
परीक्षण गरिएका मिसाइलको प्राविधिक विशेषता र प्रक्षेपण प्रक्रियाबारे उत्तर कोरियाले थप विवरण सार्वजनिक गरेको छैन। परीक्षणले छिमेकी मुलुकको सुरक्षामा कुनै प्रतिकूल प्रभाव नपारेको उसको दाबी छ।
उत्तर कोरियाले पछिल्लो समय आधुनिक मिसाइल पनडुब्बी निर्माणसँगै ब्यालेस्टिक र क्रुज मिसाइल विकासलाई तीव्रता दिँदै आएको छ। नेता किम जोङ उनले विभिन्न रणनीतिक मिसाइलको विकासलाई प्रत्यक्ष निगरानी गर्दै आउनुभएको छ।
पनडुब्बीबाट प्रहार गर्न सकिने मिसाइलले उत्तर कोरियाको समुद्री सैन्य क्षमता विस्तार गर्नुका साथै सम्भावित आक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने विश्लेषण गरिन्छ।














प्रतिक्रिया दिनुहोस्