जनता टाइम्स

१५ पुष २०७६, मंगलवार १८:१२

सडक पूर्वाधारको प्रभावकारी एवम गुणस्तरिय मर्मत सम्भार गर्ने भौतिकमन्त्री नेम्वाङको घोषणा


काठमाडौ, पुष १५

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले सडक पूर्वाधार नै नेपालको प्रमुख यातायातको माध्यम भएको बताउनुभएको छ । मंगलबार सडक बोर्ड नेपालको १७ औँ बार्षिक उत्सवलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा सडक पूर्वाधार नै यातायातको प्रमुख माध्यम रहेको हुँदा आम नागरिकसम्म पहुँच पुर्याउन सडक यातायातलाई जोड दिइएको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो । ‘देशको सबै भूभागमा बसोबास गर्ने आम नागरिकलाई भर पर्दो सुविधायुक्त सडक यातायातको सुविधा पुर्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका सबै निकायहरु क्रियाशिल छन् ।’

मन्त्री नेम्बाङले सडक निर्माण तथा संभार कार्यमा राज्यको सबै तहको समान जिम्मेवारी रहेको बताउनुभयो । उहाँले भन्नु भयो, ‘केन्द्रिय स्तरको रणनीतिक सडकहरुको निर्माण एवम मर्मत संभार सम्बन्धी कार्य सडक विभागबाट गरिदै आएको छ । प्रदेश तथा स्थानीय स्तरको सडकहरुको निर्माण तथा मर्मत संभार सम्बन्धित प्रदेश र स्थानीय तहबाट गरिने हुँदा मुलुकले ठूलो धनराशि लगानी गरि निर्माण गरेको सडक पूर्वाधारको प्रभावकारी एवम गुणस्तरिय मर्मत सम्भार गर्ने कार्यमा सबै तह, तपकाहरु गम्भिर हुनु पर्ने अहिलेको आवश्यकता छ ।’
नेपाल सरकारले उत्तर तथा दक्षिण सीमापार सडकको विस्तार गर्ने कार्यलाई जोड दिएको उल्लेख गर्दै मेची, कोशी, गण्डकी र कर्णाली करिडोर जस्ता सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

उहाँले निर्माण सम्पन्न भएका र हाल निर्माणाधिन सडकको निरन्तर मर्मत संभार एवम सम्वद्र्धन आवश्यक भएको बताउँदै सडक पूर्वाधारको योजनाबद्ध मर्मत संभार गर्ने कार्यमा देखिएका कमि कमजोरीहरु निराकरण गरि प्रभावकारी ढंगबाट सञ्चालन गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प राज कँडेलले नेपालको भौगोलिक संरचनाले धेरै सडकको माग गर्ने बताउनु भयो । उहाँले भन्नभयो नेपालमा यातायातको मुल साधान सडकलाई नै बनाउनु पर्ने देखिन्छ । राष्ट्रिय योजना आयोगमा माग भई योजनाहरु मध्ये ८० प्रतिशत भौूतिक पूर्वाधार त्यसमा पनि सडक बढि हुने गरेको छ ।

नेपालको मुख्य यातायातको माध्यम सडक नै भएकाले वास्तवमा देशको आवश्यकता कति हो त्यसको मास्टर प्लान बनाउनु पर्ने आवश्यकता देखिएको उल्लेख गर्नु भयो । उपाध्यक्ष कँडेले सडक निर्माण भइसकेपछि त्यसको मर्मत संभारको ठूलो आवश्यकता भएको र त्यसमा पनि काठमाण्डौ उपत्यका र ठूलो राजमार्ग र ठूला सहरहरुमा मर्मत संभारको बढी हुने बताउनुभयो ।

कार्यक्रममा बोर्डले प्रकाशन गरेको बार्षिक प्रगति प्रतिवेदन समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा, नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव एवम सडक बोर्डका अध्यक्ष देबेन्द्र कार्की, सडक बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेत लगायतले आफ्नो धारण राखेका थिए ।