जनता टाइम्स

१५ पुष २०७६, मंगलवार १९:१०

एकीकरण टुंगिए लगत्तै पार्टी नयाँ ढंगले अघि बढ्ने नेकपा नेता नेपालको घोषणा


हेटौंडा, पुष १५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधि र विधानअनुसार एकीकरणलाई छिटो सम्पन्न गरिनुपर्ने बताउनुभएको छ । नेकपा हेटौंँडा उपमहानगर कमिटीद्वारा आज आयोजित वडा सदस्यहरुको शपथ कार्यक्रममा नेता नेपालले पार्टीको नेतृत्व तहले एकीकरणलगायत पार्टीको दिगो विकासको सम्बन्धमा बोलेका प्रतिबद्धता पूरा गर्नुपर्ने र पार्टीको विधानअनुसार हिँड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले सरकार र पार्टीले सातै प्रदेशको विकास र समृद्धिमा जोड दिनुपर्ने पनि बताउनुभयो । उहाँले कार्यकर्ताले पदका लागि नभई पार्टीका लागि काम गर्नुपर्ने र जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीलाई आगामी दिनमा प्रभावकारी बनाउन सबै तह र समुदायलाई समेटेर काम गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । यही पुस २३ गते बस्ने बैठकमा पार्टीलाई नयाँ ढङ्गले सञ्चालनका लागि तथा सीमा र एमसिसीलगायत विषयमा निर्णय हुने जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रदेशमा सक्रियताका साथ समृद्ध नेपाल र सुखी नेपाली बनाउनेतर्फ उदाहरणीय काम गरेको जिकिर गर्नुभयो । राष्ट्रिय सभा, प्रत्यायोजन समितिका सभापति रामनारायण बिंडारीले पार्टी एकतालाई प्रभवकारी बनाउन स्थानीयदेखि केन्द्रसम्म एक ढिक्का भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । पार्टीका जिल्ला सहइञ्चार्ज कुमारी मोक्तानले पार्टीलाई अगाडि बढाउन सबैको विश्वास जित्नुपर्छ र समुन्नत समाज बनाउनेतर्फ सबै लाग्नुपर्छ भन्नुभयो ।

केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले पार्टीले वडादेखि केन्द्रीय तहसम्मको समस्या बुझ्नुपर्ने तथा पार्टीको कामलाई टिकाउनेमा विशेष जोड दिनुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य केदार न्यौपानेले पार्टीका नेताहरु भाषणमुखी नभई कार्यमुखी हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य काशीनाथ अधिकारीले नेता तथा कार्यकर्ताले सरकारको टीकाटिप्पणी गर्नुभन्दा पनि आफ्ना जिम्मेवारीलाई पूरा गर्नुपर्ने बताउनुभयो ।