जनता टाइम्स

१६ पुष २०७६, बुधबार १४:११

निश्चित मापदण्ड पूरा गरेपछि मात्र एमसीसी लागु हुने भएकाले विवाद नगर्न संचारमन्त्री बाँस्कोटाको आग्रह


काठमाडौं, पुष १६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सँगको सम्झौता संसदबाट अनुमोद हुने स्पष्ट पार्नुभएको छ । उहाले यो सम्झौता पारित हुनबाट कसैले रोक्न नसक्ने बताउनुभयो ।

प्रेस संगठन डडेल्धुरा शाखाले बुधबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारले एमसिसीको फाइल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकटोकबिना पास हुने बताउनु भयो । ‘कसैले चाहेर पनि अब एमसिसी फेल हुँदैन, सरकारले संसदमा पेश गर्छ सिधै पास हुन्छ’, सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले भन्नुभयो । उहाले एमसिसी निश्चित मापदण्ड पूरा गरेपछि मात्र लागूहुने भएकोले एमसिसीलाई राजनीतिक मुद्दा बनाउन नहुने आग्रह गर्नुभयो ।

मन्त्री बाँस्कोटाले लिपुलेक, लिम्पियाधुरा नेपालको भएको स्पष्ट पार्दै यो समस्या समाधान हुने बताउनु भयो । उहाले विगतका तथ्यहरूमाथि छानबिन हुने र लिपियाधुराको विवाद पनि साम्य हुने भनाई राख्नुभयो । ‘दार्चुलाको लिम्पियाधुरा, लिपुलेक क्षेत्र नेपालको भूमि भएकाले यस विषयमा द्विविधामा रहनु हुँदैन,’ उहाले भन्नुभयो, ‘भारत सरकारलाई पत्र सम्प्रेषण गरिसकेकाले द्विपक्षीय छलफलबाट समस्या समाधान हुन्छ।’ ब्रिटिस इन्डिया कालदेखि नै छुट्याइएका चिजहरु हेरेर आउनुपर्ने बताउदै मन्त्री बाँस्कोटाले तथ्य र प्रमाणले के भन्छ हामीले त्यो स्वीकार्नुपर्ने जिकिर गर्नुभयो ।