जनता टाइम्स

१६ पुष २०७६, बुधबार १७:०१

भनाभन हुँदा राज्यमन्त्रीको गालामा सांसदको थप्पड !


विरगञ्ज, पुष १६

प्रदेश–२ मा एक राज्यमन्त्रीलाई सांसदको कुटाइ खानुपरेको छ । भुक्तानीको विषयमा लामो समयदेखीको सरकार सांसदबीचको विवादका क्रममा कुटाइको अवस्थासम्म पुगेको हो । प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई प्रदेश सभा सदस्य प्रमिलादेवी दासले मंगलबार दिउँसो थप्पड हान्नु भएको हो ।

नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य प्रमिला देवी दासले राज्यमन्त्री यादवलाई प्रदेश सभा भवन बाहिर थप्पड हानेको एक प्रत्यक्षदर्शीले बताएका छन् । उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपा र नेपाली कांग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए । प्रदेश सभाको बैठक बसेलगत्तै नेपाली कांग्रेसका सांसदहरुले उपभोक्ता समितिको भुक्तानीबारे सरकारले जवाफ दिनुपर्ने भन्दै बैठक रोकेका थिए ।

बैठक अवरुद्ध भएपछि संसद भवनबाट बाहिरिनु भएकी दासले प्रदेश सरकारको काम कारबाहीको विरोध हुँदा पनि सरकार र मन्त्रीहरु लाज पचाएर बसेको भन्दै आलवचना गर्नुभयो । त्यसक्रममा यादव र दासबीच भनाभन हुँदा घटना थप्पडसम्म पुगेको हो ।